सरकारी स्वामित्वमा रहेका संस्थानहरूः कुन कस्तो हालतमा ?

सरकारी स्वामित्वमा रहेका संस्थानहरूः कुन कस्तो हालतमा ?

  • बिहिबार, मंसिर २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

सधैँ घाटाको आयल निगम अहिले नाफामा
२६ पुस ०२७ मा स्थापना भएको नेपाल आयल निगम व्यापारिक उद्देश्यले सञ्चालित छ । चार वर्षअघिसम्म सबैभन्दा घाटामा सञ्चालित संस्थानको छवि बनाएको निगमको आर्थिक अवस्था अहिले सुदृढ भइसकेको छ । पछिल्ला तीन वर्षमा १ खर्बभन्दा बढी नाफा गरी ३५ अर्ब ऋण र ३७ अर्ब सञ्चित नोक्सानी भर्पाइ गरिसकेको छ । निगमले वार्षिक २ खर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम कारोबार गरिरहेको छ । त्यसमध्ये १ खर्ब ५५ अर्ब रुपैयाँ तेल खरिदको भुक्तानी र करिब ४५ अर्ब सरकारलाई विभिन्न शीर्षकमा राजस्व बुझाउने गरेको छ ।

नाफामा कृषि सामग्री कम्पनी लिमिटेड
रासायनिक तथा प्रांगारिक मल आपूर्ति गर्ने उद्देश्यले २१ जेठ ०५९ मा स्थापित कृषि सामग्री कम्पनी लिमिटेड नियमित रूपमा नाफा आर्जन गर्ने संस्थान हो । किसानलाई सस्तो मूल्यमा मल उपलब्ध गराउन सरकारले ०६५ देखि वार्षिक ४–५ अर्ब रुपैयाँ कृषि सामग्रीलाई अनुदान दिन थालेको छ । अनुदान रकमबाट कृषि सामग्रीले करिब ३ लाख मेट्रिक टनसम्म युरिया, डिएपी र पोटास खरिद गर्दै किसानलाई उपलब्ध गराइरहेको छ । कम्पनीले आव ०७३–७४ मा मात्र १३ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनी ३५ करोडभन्दा बढी सञ्चित नाफामा छ ।

सधैँ घाटामा खानेपानी संस्थान
मूलतः सहरी क्षेत्रमा खानेपानी आपूर्ति र ढल निकास गर्ने उद्देश्यले २५ फागुन ०४६ मा स्थापित खानेपानी संस्थान निरन्तर नोक्सानबाट गुज्रिरहेको छ । अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखाका अनुसार ०७२–७३ सम्म संस्थान १ अर्ब ४ करोड २९ लाख नोक्सानमा छ । अहिले संस्थानले देशभरका २२ जिल्लामा खानेपानी आपूर्ति गर्दै आएको छ । सेवा सुविधा नपुगेको भन्दै अहिले संस्थानका कर्मचारी हड्तालमा छन् । संस्थान मातहतका बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा महाप्रबन्धक भुपेन्द्र प्रसादलगायतकै संलग्नतामा २५ करोड भ्रष्टाचार भएको मन्त्रालयले गरेको छानविनबाटै खुलेको थियो ।

दुग्ध विकास संस्थान
ग्रामिण क्षेत्रका किसानले उत्पादन गरेको दुध खरिद गरेर सहरी क्षेत्रका उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले २१ जेठ ०५९ मा स्थापित दुग्ध विकस संस्थान संचित नोक्सानीमा छ । यद्यपि, गत आर्थिक बर्ष ०७४–७५ मा सात करोड १९ लाख नाफा गरेका संचालक समिति अध्यक्ष रघु गौतमले बताए । संस्थानले त्यसअघि आव ०७३–७४ मा २१ करोड नोक्सान बेहोरेको थियो । संस्थानको संचित नोक्सानी ५३ करोड रुपैयाँ पुगेको छ । अवकाश प्राप्त कर्मचारीलाई उपदान दिन मात्रै १५ करोड खर्च हुने गरेको छ ।

दुग्ध बजारमा डिडिसीको हिस्सा ४० प्रतिशत छ । यो बर्ष संस्थानले ५०औं बर्ष पुगेको अवसरमा स्वर्ण जयन्ती मनाउन लागेको थियो । तर, प्रतिकर्मचारी १० हजार प्रोत्साहन भत्ता माग गर्दै हड्ताल गरेपछि स्वर्ण जयन्ती नै स्थगित भएको थियो ।

नागरिक लगानी कोष
२३ बर्षअघि स्थापित अर्थ मन्त्रालय मातहतको नागरिक लगानी कोष नाफामा छ । कोषले आर्थिक बर्ष ०७२–७३ मा २३ करोड ७२ लाख र ०७१–७२ मा १८ करोड ६१ लाख खुद नाफा आर्जन गरेको थियो । नेपालका ठूला परियोजनामा लगानी गनुपर्दा कोषको नाम अग्रपंक्तीमा आउँछ । त्यसैगरी विभिन्न सार्वजनिक संस्थानलाई ऋण प्रवाह गर्न पनि कोष अगाडी छ । कोषमा ४८ हजार ३ सय ६५ संस्था तथा ६ लाख ७५ हजार ४ सय २० व्यक्तीको १० खर्ब रुपैयाँ भन्दा बढी रकम छ ।

नेपाल वायु सेवा निगम
६० वर्षे इतिहास बोकेको नेपाल वायुसेवा निगमले लामो समयदेखि अधिकृत पूँजी बढाउन सकेको छैन । जम्मा ३१ करोड अधिकृत पूँजी रहेको निगमले तिर्नुपर्ने ऋण दायित्व भने ३७ अर्ब ५८ करोड पुगेको छ । आव ०७४/७५ मा निगमको वार्षिक संचित नोक्सान २ अर्ब १६ करोड थियो । पछिल्लो समय खरीद गरेका वाइडबडी जहाजका लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट २५ अर्ब ऋण लिएको छ । हरेक वर्ष ३ अर्ब ६३ करोड ब्याजमात्र भुक्तानी गर्नुपर्ने दायित्व निगमलाई छ ।

निगमको कूल सम्पत्ति ४८ अर्ब ९३ करोड छ । जसअन्र्तगत १४ वटा जहाजको मूल्य ३७ अर्ब ७२ करोड, जग्गा तथा भवनको मूल्य ७ अर्ब ५९ करोड, आसामी ७५ करोड, २० करोड नगद मौज्दाद, २ अर्ब ४३ करोड बराबरको पार्टपूर्जा मौज्दाद, २१ करोड बराबरको ग्राउण्ड ह्याण्डिलिङ उपकरण छन् ।

निगमका जहाज अहिले साताको ३९ पटक अन्तरराष्ट्रिय गन्तब्यमा उड्छन् । अर्थातः ५ वटा जहाजले दैनिक ५.५७ वटा उडान गरिरहेका छन् । आन्तरिक उडानमा भने २५ गन्तब्यमा निगमले उडान तालिका बनाएको भएपनि सेवा नियमित गर्न भने सकेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरण
सरकारले शेयर लगानी गर्ने मूख्य संस्थानमध्ये नेपाल नागरिक उड्डयन प्राधिकरणले एक हो । जसमा १८ प्रतिशत हिस्सा ओगटेको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७३÷७४ मा प्राधिकरण सञ्चित नोक्सानीमा छ ।

०७४ असार महिनासम्मको तथ्यांकअनुसार प्राधिकरणको चुक्तापूँजी २५ अर्ब ४८ करोड छ । प्राधिकरण मातहत ५ अर्ब ४५ करोड जगेडा कोष छ भने १४ अर्ब ८२ करोड राबरको खुद स्थिर सम्पत्ति छ । यसबाहेक नगद तथा बैंक मौज्दाद, चालु सम्पत्ती, अन्य सम्पत्ति गरी प्राधिकरणको कूल सम्पत्ति ५१ अर्ब ५५ करोड छ । प्राधिकरणमा आर्थिक वर्ष ०७३÷७४ सम्म सरकारले २५ अर्ब ४८ करोड शेयर लगानी गरेको छ । प्राधिकरणमा ५ अर्ब ७२ करोड आन्तरिक ऋण दायित्व रहेको छ ।

समिक्षा अवधिमा प्राधिकरणको सञ्चालन आय ३ अर्ब ७२ करोड र १ अर्ब ५० करोड खुद नाफा रहेको छ । प्राधिकरण मातहत अहिले तीन वटा राष्ट्रिय गौरवका आयोजना (भैरहवा, पोखरा र निजगढ अन्तरराष्ट्रिय विमानस्थल) कार्यान्वयन भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणको स्थापना एसियाकै पहिलो जलविद्युत् आयोजना ५ सय किलोवाट क्षमताको फर्पिङ जलविद्युत् आयोजनाको स्थापनासँग जोडिएको छ । १९६८ मा सो विद्यूत् आयोजना निर्माण भए पनि त्यसको विद्युत् वितरणका लागि एक ‘बजुली अड्डा’ स्थापना गरिएको थियो । १ भदौ २०१९ मा यसको नाम फेरेर नेपाल विद्युत् कर्पोरेशन राखियो । त्यही बर्ष नेपाल विद्यूत कर्पोरेशन ऐन २०१९ बनाएर सो ऐनअनुसार नै यो संस्था चल्ने व्यवस्था गरियो । यसलाई आत्मनिर्भर बनाउँदै लैजान र जलविद्युत् उत्पादनमा निजी क्षेत्रलाई संलग्न गराउन १ भदौ २०४२ मा यसको नाम नेपाल विद्यूत् प्राधिकरण राखियो ।

हाल प्राधिकरणले जल, वायु, सोलार, बगासलगायत सबैकिसिमका ऊर्जा स्रोतबाट प्राप्त गर्न सकिने विद्युत् गरी कुल ५ हजार ४ सय ४३ मेगावाट विद्युत्को खरिद सम्झौता(पिपिए) गरिसकेको छ । प्राधिकरणको राष्ट्रिय विद्यूत् प्रसारण सञ्चालमा एक हजार ८० मेगावाट जडित क्षमता पुगेको छ । यस मध्ये ५ सय ७ मेगावाट प्राधिकरणको, ५ सय २० मेगावाट निजी उत्पादकको र ५३ मेगावाटको थर्मल प्लान्ट रहेका छन् ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड
नेपाल विद्युत् प्राधिकरणले निर्वाह गर्दै आएको भूमिकालाई विशिष्टिकृत गर्न २७ असार २०७२ मा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको स्थापना गरियो । प्रसारण लाइन निर्माण, विकास तथा विस्तारमा देशकै अग्रणी सरकारी स्वामित्वको कम्पनी बनाउने गरी प्रसारण ग्रिड कम्पनीको स्थापना गरिएको हो । कम्पनीको अधिकृत पूँजी २५ अर्ब र जारी पूँजी १० अर्ब छ । कम्पनीमा अर्थ, ऊर्जा, रक्षा, गृह, वन, विज्ञान, कृषि, भूमि व्यवस्था तथा सहकारी, सूचना जस्ता मन्त्रालय र विद्युत् प्राधिकरणको शेयर स्वामित्व छ ।

भविष्यमा प्राधिकरणबाट छुट्टिने प्रसारण संयन्त्र यसै कम्पनीमा मिलान गर्ने अवधारणा छ । यसलाई सरकार नियन्त्रित कम्पनीको रुपमा अघि बढाइने छ । हाल यो कम्पनीले २ हजार ५ सय मेगावाट क्षमताको विद्युत् प्रसारण गर्न मिल्ने फुकोट–कर्मदेव २४० किलोमिटर डबल सर्किट ३ सबस्टेशन सहितको ४०० केभि प्रसारणलाइन लाइन परियोजना अघि बढाउन लागेको छ ।

विद्युत् उत्पादन कम्पनी लिमिटेड
विद्युत् प्राधिकरणको ‘अनबण्डलिङ’ तथा ऊर्जा क्षेत्रको पुनर्संरचना अन्तर्गत नै ५ मंसिर २०७३ मा विद्युत् उत्पादन कम्पनी लिमिटेड स्थापना गरिएको छ । २० अर्ब अधिकृत पूँजी र १० अर्ब रुपैयाँ जारी पूँजी तथा २ अर्ब चुक्ता पूँजी रहेको छ । यो कम्पनीमा प्राधिकरणको शेयर स्वामित्व १० प्रतिशत रहेको छ । त्यस्तै, ऊर्जा मन्त्रालय २०, अर्थ ५, कानुन ५, कर्मचारी सञ्चय कोष १०, नागरिक लगानी कोष ५, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड ४, नेपाल टेलिकम १०, बीमा संस्थान २, सर्वसाधारण जनता १७, आयोजना प्रभावित जनता १०, तथा विपन्न जनताको २ प्रतिशत शेयर लगानी रहने गरी विद्युत् उत्पादन कम्पनी लिमिटेड स्थापना गरिएको हो । कम्पनीले ३०७ मेगावाटको जगदुल्ला जलाशययुक्त विद्युत् आयोजना, ४५० मेगावाटको किमाथांका अरुण, ४१० मेगावाटको नलगाड, ४२६ मेगावाटको फुकोट कर्णाली, १ हजार २ सय ९ मेगावाटको मुगु कर्णाली जलाशययुक्त आयोजनाहरूको अध्ययन अघि बढाएको छ । यो कम्पनीलाई निजी क्षेत्रसँगको प्रतिस्पर्धी कम्पनीको रुपमा अघि बढाउने सरकारको अवधारणा छ ।

एनईए इञ्जिनियरिङ कम्प्नी लिमिटेड
प्राधिकरणको ५१ प्रतिशत शेयर स्वामित्व रहने गरीसहायक कम्पनीका रुपमा एनइए इञ्जिनियरिङ कम्पनी लिमिटेडको स्थापना भएको छ । विद्युत् उत्पादन कम्पनी लिमिटेडको १७, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १७ र जलविद्युत् लगानी तथा उत्पादन कम्पनी लिमिटेडको १५ प्रतिशत शेयर स्वामित्व छ । यो कम्पनीले जलविद्युत् आयोजना तथा अन्य पूर्वाधार योजनाका लागि सम्भाव्यता अध्ययनदेखिकै पूर्ण इञ्जिनियरिङ सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । १८ सय मेगावाट भन्दा बढी क्षमताका जलविद्युत् आयोजनामा यो कम्पनिले इन्जिनियरिङ सेवा दिएको जनाएको छ । यस कम्पनीलाई पनि भविष्यमा राष्ट्रिय इन्जिनियरिङ कम्पनीका रुपमा अघि बढाउने सरकारको अवधारणा छ ।

जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड
२७ असार २०६८ मा स्थापना भएको हो । जलविद्युत् आयोजनाहरूमा वित्तीय लगानी गर्न सार्वजनिक लगानी कम्पनीको रुपमा यसको स्थापना भएको हो । यो कम्पनीको अधिकृत पूँजी ५० अर्ब र जारी पूँजी १० अर्ब रुपैयाँ रहेको छ । यो कम्पनीमा सरकारको ५ अर्ब, सर्वसाधारणको २ अर्ब, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र बीमा संस्थानको १/१ अर्ब शेयर लगानी रहेको छ । कम्पनीले स्वपूँजी लगानी र अन्य कम्पनीहरूमा ऋण लगानी गरी झण्डै ६६५ मेगावाटका १७ आयोजनामा लगानी प्रक्रिया अघि बढाइरहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड
२०३३ मा स्थापना भएको नेप्स नियमित नाफा आर्जन गर्दै आएको छ । आव ०७३/७४ मा खुद मुनाफा ३७ करोड २० लाख रुपैयाँ आर्जन गरेको थियो । नेप्सेमा १ सय ९२ कम्पनी सुचिकृत छन् । लगानीकर्ताका रोजाई नेप्से आकर्षक लगानीको क्षेत्रमा पर्दै आएको छ । देशको लगानी बातावरणको सुचकका रुपमा नेप्सेले काम गर्दै आएको छ । काठमाडौं केन्द्रित कारोबारलाई अहिले बिस्तारै उपत्यका बाहिर पनि बिस्तार गर्न थालिएको छ । अहिले नेप्सेमा दैनिक ४ घण्टा कारोबार हुने गर्छ ।नेप्सेमा करिब १४ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको सेयर रकम सुचिकृत छ । तीन अर्ब ६० करोड कित्ता सेयर सुचिकृत छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोष
२०३१ सालमा कर्जा सुरक्षण निगमको स्थापना भएको हो । बैक तथा वित्तिय संस्थामा संकलन भएको निक्षेप तथा कर्जाको सुरक्षणको लागी राष्ट्र बैंकको पहल तथा नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकको सक्रियतामा कोषको स्थापना भएको हो । कोषको जारी पूँजी १० अर्ब छ भने चुक्ता पूँजी ८ अर्ब रुपैयाँ छ । कोषले आव २०७३/७४ सम्ममा १ करोड ५२ लाख २० हजार ६ सय ८६ जना निक्षेपकर्ताको करिब ३ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेपकाे सुरक्षण गरेको छ । कोषमा १ सय ३६ सदस्य संस्था छन् । त्यस्तै, १ लाख जना ऋणीको ६ अर्ब ५० करोड रुपैयाँ कर्जा सुरक्षण गरेको छ ।

राष्ट्रिय बिमा संस्थान
२०२४ साल पुस १ गते नीजि कम्पनीको रुपमा स्थापना भएको बिमा कम्पनी २०२५ पुस १ बाट राष्ट्रिय बिमा संस्थानमा रुपान्तरण भएको हो । संस्थानले ११ फागुन, २०२४ बाट निर्जीवन बिमा तथा ७ फागुन २०२९ देखि जीवन बिमा व्यवसाय सुरु गरेको थियो । तत्कालीन समयमा संस्थानको चुक्ता पूँजी ९७ लाख रुपैयाँ थियो ।

हाल संस्थानको चुक्ता पूँजी १८ करोड रुपैयाँ छ । १२ शाखा छन् । ७० जना कर्मचारी छन् । संस्थानले बिमितलाई प्रति हजार ६५ रुपैयाँ बोनश कायम गरेको छ । चालु आर्थिक बर्ष २०७५/७५ को पहिलो त्रैमाससम्ममा कम्पनीको जगेडा कोष १७ करोड ४१ लाख रुपैयाँ छ । १६ अर्ब २१ करोड रुपैयाँ जीवन बिमा कोष छ । खदु बिमाशुल्क आम्दानी ७८ करोड ५९ लाख रुपैयाँ छ ।

संस्थानको आव २०६६/६७ देखिको वित्तिय विवरण बिमा समितिबाट हालसम्म पारित भएको छैन । संस्थानले आव २०६६/६७ देखि २०७१/७२ सम्मको वित्तिय विवरण तयारी गरे पनि बिमांकी प्रतिवेदन भने आउँन बाँकी छ ।

राष्ट्रिय बिमा कम्पनी
२८ जेठ २०७१ बाट राष्ट्र बिमा संस्थानबाट निर्जीवन बिमा व्यवसायको लागी राष्ट्रिय बिमा कम्पनीलाई स्थापना गरिएको हो । कम्पनीका १२ वटा शाखा कार्यलय छ । चालु आर्थिक बर्ष २०७५/७६ को पहिलो त्रैमास अवधिसम्ममा कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ छ । २ अर्ब ९ करोड जगेडा कोष छ । १ अर्ब ३७ करोड बिमा कोष छ । खुद बिमाशुल्क आम्दानी ३१ करोड ९६ लाख रुपैयाँ छ । जारी बिमालेख संख्या ३ हजार ९९९ छ । नविकरण गरिएको बिमालेखको संख्या ५ सय ६३ छ । कुल दाबी भुक्तानी रकम २ करोड २९ लाख छ भने कुल दाबी भुक्तानी संख्या ५९१ छ ।

नेपाल टेलिकम
नेपाल टेलिकम उच्चतम नाफा आर्जन गर्ने सार्वजनिक संस्थानको सुचीमा पहिलो नम्बरमा छ । आर्थिक वर्ष २०७३/०७४ मा १५ अर्ब ३७ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको टेलिकमको २०७४/०७५ को लेखा परीक्षण अघिको खुद नाफा १५ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ छ । ४५ अर्ब ५६ करोड ५८ लाख ७० हजार रुपैयाँ कुल सञ्चालन आय गरेको छ । २०७४ असार मसान्तसम्म १५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको २२ अर्ब ४३ करोड ६० लाख रुपैयाँको जगेडा कोष रहेको छ । कम्पनीको दीर्घकालिन ऋण दायीत्व १५ अर्ब १६ करोड ४ लाख रुपैयाँ छ ।

खूद स्थिर सम्पत्ति ३७ अर्ब ३० करोड ७१ लाख, १० अर्ब ७ करोड ९६ लाख लगानी, २४ अर्ब २५ करोड ५२ लाख रुपैयाँ नगद तथा बैंक मौज्दात, चालु सम्पत्ति ३९ अर्ब ४८ करोड ५९ लाख, अन्य सम्पत्ति १० अर्ब ४७ करोड ९० लाख गरी कूल जम्मा सम्पत्ति १ खर्ब २१ अर्ब ६० करोड ६८ लाख रुपैयाँ रहेको छ । २०७४ असार मसान्तसम्म टेलिकमबाट सरकारले ६ अर्ब ९९ करोड ९२ लाख रुपैयाँ लाभांश प्राप्त गरिसकेको छ ।

गोरखापत्र
पूर्ण सरकारी स्वामित्वमा रहेको गोरखापत्र संस्थान सामाजिक क्षेत्रको संस्थानको सूचीमा छ । यस सूचीमा रहेकामध्ये अन्य संस्थान नोक्सान छन् । २०७३/०७४ मा गोरखापत्रले २७ करोड १० लाख रुपैयाँ सञ्चित नाफा गरेको छ । २०७४ असार मसान्त सम्म १ करोड १५ लाख रुपैयाँ चुक्तापुँजी रहेको उक्त संस्थानसँग जगेडा कोषमा ९ करोड ८८ लाख रुपैयाँ र ऋण दायीत्व ८ करोड ८८ लाख रुपैयाँ रहेको छ । खूद स्थिर सम्पत्ति ८ करोड ४६ लाख, नगद तथा बैंक मौज्दात १६ करोड ५५ लाख, चालु सम्पत्ति ३६ करोड ८४ लाख रुपैयाँ गरी कम्पनीको जम्मा सम्पत्ति ६१ करोड ८४ लाख रुपैयाँ रहेको छ ।नयाँपत्रिका

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ