काठमाडौं, १९ मंसिर ।
नेकपाका प्रवक्त प्रकाण्डले देशका बैंकरहरु मध्यम वर्गको सम्पत्ति लुट्ने गिरोहमा परिणत भएको बताएका छन् ।
नेकपा कालिकोटको आयोजनामा सदरमुकाम मान्मामा बुधबार सम्पन्न विशाल जनसभा तथा अभिनन्दन कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै प्रवक्ता प्रकाण्डले नेपालका बैंकरहरु मध्यम वर्गको भएभरको सम्पत्ति लुट्ने गिरोहको भूमिकामा देखिएको बताएका हुन् ।
गरिबलाई ‘दलाल राज्यसत्ता’ले सिध्याएको र मध्यम वर्गका नागरिकलाई दुःख गरेर कमाएको सम्पत्ति र पुर्खाको जेथालाई धितौको रुपमा न्यून रकम दिएर कब्जा गर्ने काम बैंक र तिनका संचालहरुले गरिरहेका बताए । ‘अहिले बैंकरहरुले हिजोका दिनमा गाउँमा मुखिया, सामन्त र जिम्मेवालले गरेका लुट्को धन्दा गरिरहेका छन् । अब त्यो धेरे चल्ने नेकपाले दिनेछैन’ उनले भने ‘तिमीहरुको लुट धन्दा अब नेकपाको पहलमा जनताले रोक्छन् । पीर र चिन्ता मान्ने काम गर्नुपर्दैन ।’
सीमित पूँजीपतिहरुको पकडमा देशका मध्यम वर्गको पितापूर्खाको जग्गाजमिन कब्जा गर्न ऋणको नाममा पैसा दिएर नाटक गरिरहेको भन्दै बैंकरलाई सुद्खौर भएको बताए । ‘त्यही जिम्मेवाल सुद्खोरलाई दलाल सरकारले संरक्षण दिइरहेको छ, प्रकाण्डले भने ‘अब तिमीहरुको लुट कर्म ध्वस्त हुनेछ ।’
विगतमा जिम्मेवाल, सामन्त र सुद्खोरहरुको ठाउँ बैंक र बैंकरहरुले लिएको उनको भनाई छ । राष्ट्रिय उद्यमीहरुको टाट पल्टाई बैंकहरुकै कारण भएको र ०४६ साल यता बैंकरहरु बढी ने पैसाको लोभी बनेपछि साना उद्यमी र राष्ट्रिय पूँजीवादीहरु पलायन भई खराब हलात अवस्थामा पुगैको उनको तर्क छ । बैंकले निम्न वर्गलाई ऋण नपत्याएर माफियाहरुको मात्र सेवा गरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।
‘हामीले भनेका छौं कि राष्ट्रिय उद्यमी तपाईहरु, तीनचार दशक यस क्षेत्रमा लागेर पनि जिम्मेवाल र सुद्खोरहरुका कारण पलायनको दिशामा पुगेका छन्, भविष्य झनै अन्धकारमा पुर्याइएको छ । त्यसमा चिन्ता नमान्नुस् यसको उपचार नेकपाले गर्दैछ । क्रान्तिमा हामीसँगै एकपटक साथ दिनुस्’ उनले भने ‘पञ्चायतमा राष्ट्रिय उद्योगको रुपमा जग बसालेका थुप्रै उद्योगहरु बहुदलीय यता अझ कथित गणतन्त्रमा आइपुगेपछि त्यसलाईसमेत बेचेर खाएका छन्’ उनले भने ।
हिरासतका राख्दै गर्दा केपी–प्रचण्डको सरकारले आफूलाई मार्ने कोशिस गरेको र जनताको साथ र बलले त्यो प्रयास असफल भएको प्रकाण्डको भनाई थियो ।
गत साउन २२ गते हेटौंडाबाट काठमाडौं आउँदै गर्दा फर्पिङ–बल्खु सडकखण्डको चाल्नाखेलबाट गिरफ्तार भई ४९ दिनसम्म झुठा मुद्दा लगाएर आधा दर्जन जिल्ला घुमाइएका प्रवक्ता प्रकाण्ड अन्ततः सर्वोच्च अदालतबाट निर्दोष ठहर भएपछि रिहा भएका थिए । सोही सन्दर्भलाई लिएर आज कालिकोटवासी तथा सहिद–बेपत्ता परिवारलै अभिनन्दनका गरेका छन् ।
