रूपन्देहि, १९ मंसिर ।
सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा ट्रक–टिपरलाई ‘नो ओभरटेक’ नियम लागू गरिएको छ । अाेभरटेककै कारण दुर्घटना बढेपछि यस्ताे नियम लगाइएकाे हाे ।
ओभरटेक र तीव्र गतिकै कारण दुर्घटना हुने गरेको भन्दै ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ ले सो रुटमा ३० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा गाडी कुदाउन नपाउने नियम पनि लगाएको छ ।
टिपर तथा मालबाहक गाडीको सधै भीड हुने सो सडकमा ओभरटेक गरेकै कारण गत वर्ष २१ दुर्घटना भएका थिए । यो सडक प्रयोग गरेर पाल्पाका दोभान कचल लगायतका क्षेत्रबाट दैनिक झण्डै चार सय टिपर रुपन्देहीका सिमेन्ट उद्योगमा आउने गरेका छन् । यस्तै तराईका जिल्लाबाट दैनिक ४ सय बढी मालबाहक ट्रक पहाडी जिल्ला जाने गरेका छन् ।
अनियन्त्रीत रुपमा टिप्पर कुदाउदा सवारी दुर्घटना बढेको पुष्टी भएपछि ओभरटेक र तीव्रगति रोकिएकाे प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताउनुभयो । यो नियमलाई तत्काल बेलहीया बुटवल सडक खण्डमा समेत लागू गर्ने तयारी गरेको उहाले जानाकारी दिनुभयो ।