काठमाडौं, १० मंसिर ।
नेपाल कम्युनिस्ट पार्टीले सरकारले आफ्नो पार्टीविरुद्ध लिएको दमनको रणनीति पूर्णअसफल भएको बताएको छ । नेकपाको सही राजनीतिक कार्यक्रम भएकै कारणले दमन असफल भएको उसको निस्कर्ष छ ।
नेकपाका पोलिटब्यूरो सदस्य (पीबीएम) एवं पार्टीका पूर्वीकमाण्ड ईन्चार्ज अनिल शर्मा ‘विरही’ले नेकपाविरुद्ध सरकारले लिएको दमन नीति निकम्मा भएको बताउँदै त्यो मोर्चामा हारेपछि सुरक्षित अवतरणका लागि नेकपासँगको वार्ताको प्रसंग अघि सारेको बताए ।
‘सरकारले नेकपालाई सिध्याउन दमनको एम्बुस थापेको थियो । त्यो असफल भएपछि फेस सेभिङ गर्न वार्ताको कार्ड फ्याँकेको छ’ उनले भने ‘सरकारले वार्ता टोली हामीसँग छलफल गरेर बनाएको पनि होइन, थाहा पनि छैन । वार्ता हामीलाई अहिले चाहेको विषय पनि होइन ।’

उनले क्रान्तिकारी पत्रकार संगठन नेपालद्वारा राजधानीमा आयोजित तीनदिने पत्रकारिता तालिम सत्रको प्रमुख आतिथ्यपछि उद्घाटन गर्दै सो धारणा राखेका हुन् । आफूहरुले प्रचण्ड–बाबुरामहरुले जनयुद्धमा उठेको झण्डा फालेपछि त्यसलाई उठाउँदै एकीकृत जनक्रान्तिको कार्यदिशासहित अपुरो क्रान्ति पूरा गर्ने यात्रामा निरन्तर रहेको स्पष्ट पारे ।
प्रचण्डहरु क्रान्तिकारी परिवर्तनको संघर्षबाट ‘दलाल संसदीय व्यवस्था’मा फर्किएपछि जनतालाई धोका भएको बताए ।प्रचण्ड–वैद्य संसदीय व्यवस्थामा छिरेर रमाइलो गर्नका लागि अलपत्रमा पारिएको क्रान्तिको झण्डालाई आफूहरुले नउठाएको विचार उनको थियो । साथै, नेकपाको नेतृत्वमा परिवर्तनकारी नेपालीको स्वाधीन र समृद्धिको सपना क्रान्तिबाट मात्र पूरा हुने विश्वाससमेत व्यक्ति गरे ।
प्रचण्डहरु मात्र संसदीय सत्तामा गएको बताउँदै आफूहरु अहिले पनि संघर्षमा रहेको र केवल सत्तासँग वार्ता रोकिएको अवस्था मात्र रहेको पीबीएम विरहीको भनाई छ । अनावश्यक रुपमा वार्ताको नाटकीय हल्ला गरेर सरकारले जनतामा भ्रम छरिरहेको भन्दै असन्तुष्ट जनाए ।
मंसिर ८ को विशाल जनसभा सरकारमा बस्नेहरुले सोचेभन्दा निकै उच्च स्तरबाट सम्पन्न भएको बताए । जनसभाले जारी नेपाली क्रान्तिलाई थप ऊर्जा मिलेको उनको धारणा छ ।