काठमाडौं, ८ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन गरेको अवसरमा आज काठमाडौंमा विशाल जनसभा गर्दैछ । पार्टी पुनर्गठनको पाँच वर्ष प्रवेश गरेको वर्षगाँठको अवसरमा उत्सव स्वरुप केन्द्रीय समितिको आयोजनामा जनसभा आयोजना गरेको नेकपाले जनाएको छ ।
जनयुद्ध र जनताको एजेण्डा छाडेर दलाल संसदीय व्यवस्थाको भासमा फसेको भन्दै पहिला प्रचण्ड र पछि किरणले नेतृत्व गरेको पार्टीलाई त्यागेर ०७१ मंसिर ८ गते नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा पार्टी पुनर्गठन गरेको थियो । जनयुद्धले दशौं वर्ष पार गर्दैगर्दा तत्कालीन सरकारसँग ०६३ मा बृहत सम्झौता गरेर शान्ति प्रक्रियामा सामेल भएका प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी)ले समयसँगै काँचुली फेर्दै र संसदीय दलालको इरासामा शान्ति प्रक्रियालाई व्यक्तिगत लाभको रुपमा उपयोग गर्ने र जनयुद्धको उद्देश्य र एजेण्डा त्यागेर नेतृत्व पंक्ति संसंदीय भासमा फसेको भन्दै क्रान्तिकारी पंक्तिले विप्लवको नेतृत्वमा पार्टी पुनर्गठन गरेको थियो ।
त्यसअघि किरणको नेतृत्वमा नेकपा ड्यास माओवादी रहेकै बेला सरकार पक्षले ०७० सालमा आयोजना गरेको दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गर्यो । बहिष्कार गर्नुको पछाडि बृहत शान्ति सम्झौता कार्यान्वयनमा सरकार पक्षले धोका दिएको तर्क राख्यो । त्यसबेला विप्लव ड्यास माओवादीमा सचिव थिए । बहिष्कारमा मुख्य भूमिकामा विप्लव देखिए । निर्वाचन बहिष्कारमा सिंगो पार्टी पंक्तिनै एक भएर नलग्दा बाक्लो मात्रामा मत नखसेपनि बहिष्कार परिणामुखी हुन सकेन र खसेको मतमा टेकेर सरकारले दोस्रो संविधानसभा गठन गर्यो । त्यही दोस्रो संविधानसभाले २०७२ साल असोज ३ गते नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट संविधान घोषणा गर्यो र कार्यान्वयनमा ल्यायो ।
त्यसपछि किरणको नेतृत्वको पाटीले क्रान्तिकारी परिवर्तन र जनताको एजेण्डालाई आत्मसाथ गर्न नसकेको र पार्टीका नेतृत्व परिवर्तन र जनताको पक्षमा उभिन खुट्टा लरखराएको निचोडससहित पार्टीभित्रका क्रान्तिकारी र इमान्दार पंक्तिले किरणसँग सम्बन्ध विच्छेद गरेर विप्लवको नेतृत्वमा पार्टी उक्त दिन पुनर्गठन गर्यो । पार्टीको नाम ‘नेकपा माओवादी’ राख्यो । उसले त्यही साल पौषमा दाङमा प्रथम राष्ट्रिय सम्मेलन समेत सम्पन्न गर्यो ।
त्यसपछि उसले राष्ट्रिय स्वाधीनता, जनजीविका, जनधिअकारको पक्षमा भीषण रुपमा राजनीतिक गतिविधि तीव्र रुपमा अघि बढायो र पार्टी राजनीतिमा सधैं चर्चाको केन्द्रमा रहँदै आयो । वैचारिक र सांगठनिक क्षेत्र तथा वर्गीय दृष्टिकोणबाट श्रमिक वर्ग र राष्ट्रियताको पक्षमा आवाज बुलुन्द पार्ने काममा रत्तिभर कमी हुन दिएन । ऊ जनतामाझ् फैलिँदै गयो । लिपुलेक, लिम्पियाधुरा, सुस्ता लगायत छिमेकी राष्ट्रबाट भएको सीमा अतिक्रमणविरुद्ध ंनेपाल बन्द गर्नेसम्मको आन्दोलन चलायो । पछि २०७३ साल फागुन १ मा काठमाडौंमा उद्घाटन गरेर फागुन ५–८ मा जनयुद्धको उद्गमथलो रोल्पाको थवाङमा पुगेर आठौं महाधिवेशन भव्यरुपमा सम्पन्न गर्यो । त्यही महाधिवेशनले पार्टीको नाम ‘नेकपा माओवादी’ परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी अर्थात नेकपा पारित गर्यो । महाधिवेशन हलले पार्टी नेतृत्वको रुपमा विप्लवलाई नै पार्टी महासचिवमा निवार्चित गर्यो । राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्ति पारित गरेर राजनीतिक प्रतिस्पर्धामा होमियो ।
त्यही महाधिवेशन सम्पन्न हुँदै गर्दा यता काठमाडौंबाट सरकारले स्थानीय तह निर्वाचनको घोषणा गर्यो । तर महाधिवेशनस्थलबाटै महासचिव विप्लवले एक प्रेस विज्ञप्ति जारी गरेर निर्वाचनलाई ‘कथित’को संज्ञा दिँदै सशक्त बहिष्कार गर्ने घोषणा गरे । त्यहीअनुरुप नेकपाले देशभर बहिष्कार संघर्षका कार्यक्रम चलायो र परिणामतः निर्वाचनमा निकै कम मत खस्यो । सरकारले त्यसैलाई आधार मानेर स्थानीय तह गठन गर्यो । नेकपाको मागलाई सुनुवाई गर्ने विषयमा सरकार मौन नै बस्यो । त्यसपछि सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको कार्यक्रम अगाडि ल्यायो, त्यसको पनि नेकपाले जनताको तर्फबाट सशक्त बहिष्कारको नेतृत्व गर्यो । निर्वाचनमा जनताका तहबाट निर्वाचन बहिष्कार निकै सशक्त रुपमा भयो । परिणामस्वरुपः निर्वाचनमा धेरै नै थोरै मत खस्यो, त्यसैलाई आधार मानेर दलहरु मिलेर सरकार बनाए । अहिले आफूलाई ‘कम्युनिस्ट’ मान्नेहरुकै सरकार छ मुलुकमा । उसले ‘समाजवादउन्मुख’ संविधान बोकेर हिँडिरहेको छ ।
उता सरकारले २०७२ असोज ३ गते ‘समाजवाद उन्मुख’ संविधान ल्याउनुपहिल्यै दुईदिन अगाडि नेकपाले रत्पार्कस्थित शान्तिबाटिका सकडबाट ‘जनसंविधान’ सार्वजनिक गर्यो र सरकारले ल्याउने संविधान अस्वीकार गर्ने घोषणा गर्यो । अहिले नेकपाले ‘जनपरिषद्’ र ‘जनप्रतिनिधिसभा’ संचालन गरेर जनताको समस्या र गुनासाहरु हल गर्दै आइरहेको बताउँदै आएको छ । उसले वर्तमान शासन प्रणालीलाई ‘दलाल संसदीय व्यवस्था’को संज्ञा दिई त्यसको ठाउँमा जनताको आफ्नै सत्ता वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न एकीकृत जनक्रान्ति चलाउँदै गाउँशहर र घरदैलोमा पुगेर ‘दलाल संसदीय व्यवस्था’ले मच्चाइरहेको भ्रष्टचार, महंगी, तस्कर, कालाबजारिया, राष्ट्रघात, जनघात तथा असमान सन्धिसम्झौतबारे जनतामाझ् भण्डाफोर अभियान चलाइरहेको छ । मुलुकमा जनपरिषद् अर्थात ‘जनसत्ता’ र सरकारबीच राजनीतिक र शासनमा कडा प्रतिस्पर्धा चलिरहेको नेकपाका नेताहरुको भनाई छ ।
यसैलाई कारण बनाएर सरकारले नेकपाका नेता कार्यकर्ताहरुमाथि कडा निगरानी, गिरफ्तार गर्दै विभिन्न घटनामा मुद्दा चलाइरहेको छ भने महासचिव विप्लवको व्यापक खोजी जारी राखेको छ । सोही श्रृंखलाअन्तर्गत गत साउन २२ गते काठमाडौंको टौदहनजिक चाल्नाखेलबाट नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गर्नेसम्म पुग्यो । उनी पूर्वमन्त्री समेत हुन् । प्रकाण्डलाई ६ वटा जिल्लामा पुर्र्याएर ‘कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विष्फोटक पदार्थ’ लगायत दर्जन बढी घटनामा अभियुक्त बनाई मुद्दा चलायो । अपराधीलाईझै आँखामा कालो पट्टी र हत्काडी लगायो । तर सबै मुद्दा सर्वोच्च अदालतले प्रमाणित हुन नसकेको भन्दै निर्दोष सावित गरिदियो । उनी ५१ दिनको हिरासत यात्रापछि रिहा भए ।
गिरफ्तार गरिएका अन्य अन्य नेताहरुलाई नेल समेत लगाएर यातना दिइयो । साउन १० गते नेकपाका पोलिटब्यूरो सदस्यद्वय जीवन्त र गम्भीरलाई काठमाडौबाट गिरफ्तार गरेर पार्टीका उच्च तहका नेतामाथि हमला शुरु गरेको सरकारले वर्तमान संविधानसँग असन्तुष्ट रहेका पक्षसँग छलफल गर्न भन्दै अहिले वार्ताको कार्ड अगाडि सारेको छ । तर वार्ता कोसँग ? के विषयमा ? कहिले ? र कहाँ भन्नेबारे सरकारले औपचारिक पत्र आजका दिनसम्म नपठाएको र उल्टै सरकारले वार्ताको हल्ला गरेर दमनको नीति लिएको नेकपाले बताएको छ ।
यो अवस्थासम्म आइपुग्दा सरकारले आंकलन गरेजस्तो नेकपा सानो हुँदै जानुको साटो विशाल बन्दै गएको राजनीतिक विश्लेषहरुले निस्कर्ष निकालेका छन् । नेकपाको यात्रा राजनीतिक शक्तिको भएकोले सरकारले उसलाई राजनीतिक व्यवहार गर्नुपर्ने जनमत व्यापक बन्दै जाने क्रमम तीव्र छ । उसले अगाडि सारेको एकीकृत जनक्रान्ति देशव्यापी रुपमा फैलँदो अवस्थामा रहेको छ ।
यस्तै परिस्थितिबीच नेकपाले आज प्रदर्शनी मार्गमा विशाल जनसभा गर्दैछ । जनसभामा अन्य विभिन्न पार्टीका शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने जनसभा प्रचारप्रसार समितिका संयोजक मिलनले बताएका छन् । यद्यपि विगत २३ वर्षको नेपाली राजनीतिक इतिहासमा जनताको अधिकारको पक्षमा भएका क्रान्तिको यात्रामा आजको दिन निकै महत्वपूर्ण कोशेढुंगा सावित हुने नेकपाका नेताहरुले विश्वास व्यक्त गरेका छन् ।


