चितवन, ६ मंसिर ।
पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार बिहान चितवनको कृष्ण चोकमा स्थानीयले खुकुरी आक्रमण गरेका छन् । खुकुरीसहित पुगेका स्थानीयले उनलाई ‘मार्ने’ धम्कि दिएका छन् ।
आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित कृष्णचोक नजिक मधुपुरीमा आयोजित स्थानीय पार्टी प्रवेश गर्ने कार्यक्रम चलिरहेको बेला आक्रोशित स्थानीय प्रचण्डमाथि आक्रमण गर्न खुँडा बोकेर मञ्चतर्फ अघि बढेका थिए । तर सुरक्षार्थ खटिएका सुरक्षा टोलीले उनलाई आक्रमण हुनबाट जोगाएका छन् ।
प्राप्त समाचार अनुसार बिहान ९ बजेतिर भएको उक्त कार्यक्रममा प्रचण्ड उपस्थित भएको केही समयमै आक्रोशित एक स्थानीयले घरेलु हतियार खुकुरीसहित अाएका थिए । आक्रोशित उनले हातमा खुकुरी लिई प्रचण्डलाईगाली गर्दै अगाडि बढेर आक्रमण गर्न खाेजेका थिए । तर त्यस आक्रमणलाई सुरक्षाकर्मीले रोके । आक्रमणमा पर्नबाट प्रचण्ड जोगिए ।
समाचारमा जनाइएअनुसार आक्रमणपछि उपस्थित प्रचण्ड पक्षधरले उनको हातबाट खुकुरी खोसे र नियन्त्रणमा नलिई कार्यक्रमस्थलबाहिर निकाले । त्यसपछि पनि ती व्यक्तिले आक्रोशित भावमा चिच्याउँदै प्रचण्डलाई अपशब्दमा गालीगलौज गरिरहे । र, ‘मारिदिने’ धम्की दिइरहे । पुनः आक्रमण गर्न झम्टिरहे । आक्रमण गर्ने व्यक्ति प्रचण्ड नेतृत्वकै स्थानीय रिमाल थरका युवा भएको खुलेको छ । उनले प्रचण्डलाई ‘जनमुक्ति सेना बुझाएर पैसा खाएको, जनयुद्धको उद्देश्यलाई कुल्चेको र देश र जनतामाथि गद्दार गरेको’ भन्दै तिखो शब्दमा गाली गरेका थिए । घटनास्थलको छोटो भिडियो मिर्मिरे अनलाईन प्राप्त भएको छ ।
प्राप्त भिडियोमा आक्रोशित एक व्यक्ति (पुरुष)ले आक्रोशित मुद्रमा गाली गर्दै आफूलाई नसमातेको भए ‘आज त्यल्लाई मारिदिन्थेँ’ भनेको प्रष्ट सुनिन्छ । ती व्यक्ति उनले ‘त्यो राँ… लाई ….. आज मलाई… तिनीहरुले नसमा… भए, हैन ….. हान्थेँ, खुकुरी खै खुकुरी’ प्राप्त भिडियोमा सुनिन्छ । भिडियो घटना सुनेर घटनास्थलतर्फ जाँदै गर्दा आक्रमण गर्न खोज्ने व्यक्तिलाई केही मान्छेले तानेर बाहिर सडकतर्फ ल्याइरहेको अवस्थामा खिचिएको हो ।
समाचारमा जनाइएअनुसार आक्रोशित ती व्यक्ति आफ्नो हातको खुँडा कार्यक्रमस्थलमै खोसिएपछि प्रचण्डलाई तथानाम गालीगलौज गर्दै हतियार (खुकुरी)को खोजी गर्दैगरेको सुनिन्छ । त्यही अवस्थाबीच उनलाई केही महिला र पुरुषले समातेर कार्यक्रमस्थलदेखि अन्यत्रै लगेका थिए ।
रिमाल जनयुद्धमा सक्रिय र इमान्दार कार्यकर्ता भएको बुझिएको छ । अध्यक्ष प्रचण्डले जनयुद्धका एजेण्डा र उद्देश्यमाथि धोका दिएको भन्दै चौतर्फी आलोचना गर्दै खनिइरहेको समयबीच चितवनको कृष्णचोकमा यो घटना भएको हो । यस घटनापछि प्रचण्ड थप तनाव परेका निकटस्तहरु बताउँछन् ।
यसअघि एकीकृत नेकपा (माओवादी)का अध्यक्ष रहेका बेला ६ वर्ष अघि पार्टीले दीपावलीको अवसर पारेर भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा हात मिलाउने मौका पारेर युवा पदम कुवँरले प्रचण्डलाई गालामा झापड हानेका थिए ।

