काठमाडौं, मंसिर २ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बारे औपचारिक निर्णय लिनका लागि कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।
आज बिहान थप गृहकार्य गरेर बैठक दिउँसो २ बजे पछि बस्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
तीन नेताहरुबीच थप छलफल गर्न आवश्यक भएको भन्दै हिजो केहीबेर बसी स्थगित भएको बैठक पुनः आज दिउसो २ बजे बस्न लागेको हो ।
तीन महिना थप गरिएको समय पनि आज बाट सकिने भएपछि अब के गर्ने भन्ने तय गर्नका लागि हिजो बैठक बोलाईएको थियो । तर, शीर्ष नेताहरुबीच बैठकपूर्व सहमति नभएपछि आजको बैठकले मात्र यो विषयलाई टुंग्याउँने तयारी भएको हो ।
प्रवक्ता शर्माले हिजो छोटो बैठक बसेर आज मात्र नेविसंघको विषय टुंग्याउँने गरी बैठक स्थगित भएको जानकारी दिनुभयो । पार्टी कार्यालयमा बोलाइएको हिजोको बैठक नेविसंघका दुई पक्षबीचको नाराबाजीले बैठक सुरु हुन सकेको थिएन ।