काठमाडौँ, १८ कात्तिक ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ७ अन्तर्गतका सबै वडालाई यही कात्तिक २६ गतेभित्र स्थानीय विकास तथा पूर्वाधार निर्माणसम्बन्धी कार्यक्रम पठाउन निर्देशन दिइएको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका संयोजक प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरको अध्यक्षतामा आज बसेको बैठकले स्थानीय सडक निर्माण, खानेपानी तथा सरसफाइ, नवीकरणीय ऊर्जा, पुरातात्विक महत्वका ऐतिहासिक सांस्कृतिक सम्पदा मर्मतलगायत विषयको आवश्यकता, स्थानीयवासीको दृष्टिकोण, खर्चको कूल लागतको अनुमानको माग गरेको हो ।
उक्त निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिकाका १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाका १, २ र ३ तथा तारकेश्वर नगरपालिकाका ३, ४ र ५ वडा पर्छन् । यी वडाले पठाउने कार्यक्रमका आधारमा प्राथमिकता तोकेर स्थानीय विकासका कार्यक्रम अगाडि बढाइने प्रदेशसभा सदस्य वसन्त मानन्धरले जानकारी दिनुभयो ।
चालू आवमा रु चार करोड विनियोजन गरिएको उक्त कार्यक्रमका लागि प्रतिनिधिसभा सदस्य मानन्धरको संयोजकत्वमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि गरी १० सदस्यीय समिति गठन भएकोे थियो ।