काठमाडौँ, १४ कात्तिक।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।
प्रधानमन्त्री ओलीको छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रण भएको उहाँको उपचारमा संलग्न प्रा डा अरुण सायमीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको रक्तचाप र मधुमेह पनि सन्तुलनमा रहेको हुँदा सामान्य हिँडडुल गर्नुभएको र सामान्य खाना थाल्नुभएको छ ।
प्रधानमन्त्री ओली सोमबार बिहान छातीमा सङ्क्रमण भई श्वासप्रश्वासमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको थियो ।
उहाँको उपचारका क्रममा नसाबाट दिइएका विभिन्न औषधि बिहीबारदेखि बन्द गरिने र मुखबाट खुवाइनेछ । प्रधानमन्त्रीको उपचारमा डा सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित हुनुहुन्छ ।
यसैबीच, प्रधानमन्त्री ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थाल्नुभएकाे छ । शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा. डा. अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेको बताउनु भयाे ।
‘प्रधानमन्त्रीले राम्ररी सुत्नुभएको छ, राम्ररी खानुभएको छ, आरामका लागि मात्र हामीले केही दिन अस्पतालमा बस्नुपर्छ भनेर सल्लाह दिएका हौँ ।’
अस्पतालका निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले गत सोमबार भर्ना भएपछि अहिलेसम्मको अवधिमा प्रधानमन्त्रीको स्वास्थ्यमा प्रत्येक घण्टा सुधार आएको बताउनु भयाे ।