काठमाडौँ, १३ कात्तिक ।
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थामा निकै सुधार आइरहेको छ । उहाँको छातीको एक्स–रे, रगत परीक्षण लगायतका रिपोर्टहरु सकारात्मक देखिएको भन्दै चिकित्सकले स्वास्थ्यमा निकै सुधार आएको बताएका छन् ।
प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे अस्पतालले बिहान १० बजे उपचारमा संलग्न चिकित्सकको टोलीमार्फत सञ्चारकर्मीलाई जानकारी गराएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी लिन र स्वास्थ्यलाभको कामना गर्न पार्टीका नेता एवं कार्यकर्ता र शुभेच्छुकको अस्पताल परिसरमा बाक्लो उपस्थिति छ । छातीमा सङ्क्रमण देखिएका कारण उपचारका लागि प्रधानमन्त्री ओली सो सेण्टरमा सोमबार भर्ना हुनुभएको हो ।
यसैबीच अाज बिहान अाेलीलाइ सभामुख कृष्णबहादुर महरा, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई लगायतका नेताहरू स्वास्थ्यअवस्था बुझ्न अस्पताल पुग्नुभएकाे थियाे ।
महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख बिहान त्यहाँ पुग्नुभएको थियो । भेटपछि सभामुख महराले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकले आफूलाई जानकारी दिएको बताउनुभयो ।
यस्तै प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिन नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई पनि आजै बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभयो । प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी दिँदै प्रा डा अरुण सायमीले भन्नुभयो, “प्रधानमन्त्री ओलीले बिहानी खाजा खानुभयो, भेट्न आएका शुभेच्छुकसँग सजिलोसँग कुराकानी गर्नुभएको छ ।”
भट्टराईले मंगलबार बिहान प्रधानमन्त्री ओलीलाई अस्पताल पुगेरै भेट गपछि ट्वीट गर्दै प्रधानमन्त्री ओलीको अवस्था सन्तोषजनक रहेको बताउनुभएकाे छ ।
‘प्रमलाई अस्पतालमा भेट्दा निकै हँसमुख देखिनुभो । अलिकति ठट्टामजाक पनि गर्नुभो,’ ट्वीटमा लेख्नुभएकाे छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य तन्दुरुस्त हुँदै गरेको अनुभव आफूहरुले गरेको उहाँको भनाइ थियो ।
यस्तै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएकाेछ । उहाँले मंगलबार ट्वीट गर्दै भन्नुभएकाे छ, ‘सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू, तपाईको आत्मबलले धेरै पटक तपाईले स्वास्थ्य र अन्य प्रतिकुलतालाई जितिसक्नु भएको छ, तपाईको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यो देश तपाईकै जीवनकालमा समृद्धिको मार्गमा अघि बढेको हेर्न पाइयोस् ।’