काठमाडौं–
महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहक र कर्मचारी तथा तिनका परिवारले ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन् ।
बैंकले आफ्ना सरोकारवालालाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ग्रान्डी अस्पतालसँग एक सम्झौता गरेको जनाएको छ । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, ग्राहकका परिवार, कर्मचारी र कर्मचारीका परिवारले ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउने छन् ।
सम्झौता अनुसार महालक्ष्मी बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक र तिनका परिवार (श्रीमान–श्रीमती, छोरा–छोरा, बुबा–आमा)ले उपचार खर्चमा साढे सात प्रतिशत छुट पाउनेछन् । बैंकका कर्मचारी र कर्मचारीका परिवारले अस्पतालको सेवा शुल्कमा १० छुट पाउनेछन् ।
देशका ८३ वटा शाखाबाट बंैकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनमा ग्रान्डी इन्टरनेसनल अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम गर्दै जाने सहमति समेत गरेको छ ।
यसैबीच महालक्ष्मी विकास बैंक लिमिटेडले एकै दिन चारवटा नयाँ शाखाबाट काराेवार सुरू गरेकेा छ ।
बैंकले सुर्खेतको विरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ६, बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १०, सिराहाको लहान नगरपालिका, वडा नम्बर १ र नवलपरासीको कावासोती नगररपालिका वडा नम्बर ८ स्थित शाखा कार्यालयबाट शुक्रबार कारोबार थालेको हो ।
शाखा सञ्जाल विस्तार गरी देशभर बैंकिङ सेवा उपलब्ध गराउने क्रममा यी शाखाबाट कारोबार सुरु गरेको बैंकले जनाएको छ । अब बैंकको शाखा संख्या ८३ पुगेको छ ।
यसबाहेक महालक्ष्मीले ३५ वटा एटिएममार्फत सेवा दिइरहेको छ । बैंकको ग्राहक संख्या चार लाख ९० हजारभन्दा बढी छ । बैंकले हालसम्म २६ अर्ब ७७ करोड निक्षेप संकलन गरी २२ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।