दशैँ र तिहारको फुर्सदमा म्याग्दी घुम्न आमन्त्रण: यस्ताे छ चहलपहल

दशैँ र तिहारको फुर्सदमा म्याग्दी घुम्न आमन्त्रण: यस्ताे छ चहलपहल

  • मङ्लबार, अशोज ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

बेनी, ३० असोज । दशैँ र तिहारको बिदा समयमा म्याग्दी भम्रण गरी रमाउन चाहनुहुन्छ भने अहिले उपयुक्त समय हो । म्याग्दी उद्योग वाणिज्य सङ्घको अगुवाइमा यस वर्षलाई ‘म्याग्दी भ्रमण वर्ष – २०७५’ को रुपमा मनाउन शुरु गरिएको छ ।

हिमालपारिको जिल्ला मुस्ताङको प्रवेश द्वारको रुपमा रहेको म्याग्दीमा लामो तथा छोटो यात्रामा पुगिने पर्यटकीय स्थलहरूमा सहज रुपमा पुग्न आवश्यक प्रबन्ध मिलाइएको भ्रमण वर्ष मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताउनुभयो ।

“प्राकृतिक सुन्दरताले भरिपूर्ण म्याग्दीले अथाह सम्भावना बोकेको छ, यहाँ आउने पर्यटकलाई यातायात र खानामा विशेष छुटको व्यवस्था समेत गरिएको छ” – सङ्घका अध्यक्ष कर्माचार्यले भन्नुभयो । पछिल्लो समय चाडपर्व नयाँ ठाउँ घुमेर मनाउने संस्कारको विकास हुन थालेको भन्दै सङ्घले भ्रमणका लागि सबैलाई आमन्त्रण गरेको छ । म्याग्दीका पर्यटकीय स्थलहरूमा पुग्न बेनीस्थित कालीपुलमा रहेको पर्यटक सूचना केन्द्रमा आवश्यक सूचना र परामर्शको समेत व्यवस्था गरिएको छ ।

बेनी नगरपालिकासँगको सहकार्यमा पर्यटकको तथ्याङ्क राख्ने र धार्मिक तथा पर्यटकीय स्थलको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले डिजिटल सूचना केन्द्र सञ्चालनमा ल्याइएको हो । गत वैशाख ३१ गते औपचारिक रुपमा म्याग्दी भ्रमण वर्षको सुरुआत गरिएको थियो । जिल्लामा रहेको पर्यटकीय सम्भावनालाई उजागर गर्दै पर्यटन आगमन बढाउन भ्रमण वर्षले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सङ्घले स्थानीय तह र सम्बद्ध सरकारी निकायसँगको सहकार्यमा भ्रमण वर्षलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोगका लागि आह्वानसमेत गरेको छ । प्राकृतिक, ऐतिहासिक, साँस्कृतिक र पौराणिक महत्वका सम्पदाको पहिचान, संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटकको आगमन वृद्धि गर्न भ्रमण वर्षले सहयोग पुग्ने सङ्घका महासचिव लीलाराम गौतम बताउनुहुन्छ । पर्यटकीय स्थलको पहिचान गरी प्रचारप्रसार गर्ने र पूर्वाधार निर्माणमा सरकारी तथा निजी क्षेत्रको लगानी भित्र्याउन पहल गर्ने भ्रमण वर्षको मुख्य उद्देश्य रहेको छ ।

पर्यटकलाई प्रदत्त सुविधाहरू

भम्रण वर्षको अवसरमा म्याग्दीमा आउने पर्यटकलाई विशेष सुविधाको व्यवस्था गरिएको छ । यहाँ आउने पर्यटकलाई आरामदायी बसोबाससँगै खानामा समेत विशेष सहुलियत दिइएको छ । पर्यटक सूचना केन्द्रमा दर्ता गरेर होटल आइपुग्ने पर्यटकलाई खानामा १० प्रतिशत छुटको व्यवस्था गरिएको म्याग्दी होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले बताउनुभयो ।

उहाँले अहिलेसम्म जिल्ला भित्रिने पर्यटकलाई खान र बस्न समस्या नहोस् भनेर कालीपुलमा रहेको प्रहरीको यात्रु सहायता कक्षमा समेत सम्पर्क नम्बरहरू उपलब्ध गराइएको जानकारी दिनुभयो । “बेनीमा आउने पर्यटकलाई खान र बस्न समस्या छैन, हामीले एक अर्का होटलबीच समन्वय गरेर भए पनि यहाँ भित्रिने पर्यटकलाई खाने र बस्ने राम्रो प्रबन्ध मिलाएका छौँ” – अध्यक्ष आचार्यले भन्नुभयो ।

घुम्ने गन्तव्य

दर्जनौँ हिमाल, मनोरम भू–बनोट, कला, संस्कृति र ऐतिहासिक स्थलहरू रहेको म्याग्दी अथाह सम्भावना बोकेको जिल्ला हो । संसारको सातौँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर) अवस्थित म्याग्दीमा अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी, पुठा, बराह शिखरलगायत दर्जनौं हिमशृङ्खला रहेका छन् । हिमालपारिको जिल्ला मुस्ताङको प्रवेश द्वारको रुपमा समेत रहेको म्याग्दीमा हिमालहरूसँगै अग्ला झरना, तालतलैया, धार्मिक र ऐतिहासिक सम्पदाहरूसमेत छन् । यहाँ भ्रमण गर्न आउने पर्यटकले लामो यात्रामा राउण्ड धौलागिरि, अन्नपूर्ण आधार शिविर, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला पदमार्ग, धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी, पश्चिम धौलागिरिलगायतका पदमार्गको भम्रण गर्न सक्छन् ।

यी पदमार्गको भम्रणमा एक सातादेखि दुई साताभन्दा बढी समय खर्चिनुपर्छ । छोटो दूरीमा दुईदेखि पाँच दिनसम्मको यात्रामा आउने पर्यटकहरू घोडेपानी पुनहिल, फुलवारी, करबाकेली, खोप्रा, मोहोरडाँडा, टोड्के, जगन्नाथ, रुइसे, भेडीओढार, रिखार, स्वर्गाश्रम, बेलढुंगा, बेगको नेपालकै लामो झोलुङ्गे पुल, रुप्से झरना, अन्ध गल्छी, रुमको दुरलेक, भालेबास्ने ताल, मालिका धुरी, लुकेको बस्ती गुर्जा, हिमालको काखमा रहेको मुदी, तातोपानी कुण्डहरूमा पुग्न सक्छन् । त्यसैगरी, नौलीबराह, खयरभारनी, नागी बराही, पेरी भारनी, निस्कोट बराहीलगायतका तालतलैयाहरू पनि यहाँ छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी