दाङ, २७ असोज ।
संघीय संसदका सभामुख कृष्णबहादुर महराले संविधान र ऐन नियमहरु समय अनुसार परिमार्जन गर्दै जान सकिने बताउनुभएको छ ।
रिपोटर्स क्लब दाङको आठौं वार्षिकोत्सव समारोहलाई आज तुलसीपुरमा सम्बोधन गर्दै सभामुख महराले कुनै पनि ऐन नियमहरु अकाट्य नहुने बताउनुभयो । देशमा अहिले उठिरहेका संविधान र ऐन कानून विरोधी आवाजहरु समेट्दै आवश्यकता अनुसार कानूनहरु परिवर्तन गर्न सकिने भएकाले यसलाई ठूलो विषय बनाउन आवश्यक नरहेको उहाँले बताउनुभयो ।
ऐन नियम मात्रै नभएर संविधान पनि परिवर्तन गर्न सकिने उल्लेख गर्दै सभामुख महराले कानूनमा आफूले चाहेको कुरा परेन भनेर आत्तिन नहुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले देश अहिले समृद्धिको बाटोमा अघि बढिरहेको उल्लेख गर्दै विकासको मार्ग्चित्र तयार भईसकेको बताउनुभयो । अब देशमा लोकतन्त्र र स्थायीत्वसँगै समृद्धिको यात्रा शुरु भएको विचार व्यक्त गर्दै उहाँले सरकारको ध्यान देशलाई समृद्ध बनाउने तर्फ केन्द्रित भएको बताउनुभयो ।
विकासको मार्ग्चित्र तयार भईसकेको र त्यसलाई कार्यान्वन गर्दै जनतालाई परिवर्तनको अनुभूति गराउने उहाँको दाबी थियो । प्रदेशका राजधानीबारे भईरहेका विवादको प्रसंगमा महराले अस्थाई राजधानी तोक्दा देशी विदेशी शक्तिहरुको चलखेल भएको बताउनुभयो । उपयुक्त ठाउँमा राजधानी तोक्न धेरै पहल गरेको तर राष्ट्रिय अन्तर्रा्ष्ट्रिय तत्वहरुको खेल भएका कारण समस्या उत्पन्न भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा संघीय सांसद् हिराचन्द्र केसी, राष्ट्रियसभा सदस्यहरु अनिता देवकोटा, कोमल ओली, प्रदेशसभा सदस्य डिल्ली बहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले देशलाई सही दिशामा लैजान सभामुखले सही भूमिका खेल्नुपर्ने सुझाव दिनुभएको थियो ।
वार्षिकोत्सवका आवसरमा रिपोटर्स क्लबले दर्जनौं पत्रकार र सञ्चार माध्यमलाई पुरस्कृत तथा सम्मान गरेको अध्यक्ष शरद रेग्मीले बताउनुभयो ।