भक्तपुर, २७ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैँलगत्तै तल्लो तहसम्म पार्टी एकता पूरा गर्ने बताउनु भएको छ ।
पार्टीभित्रको बिबादका कारण सचिवालय बैठक नै अनिश्चित बनिरहेका बेला अध्यक्ष दाहालले दशै लगत्तै एकता प्रक्रियाले पूर्णता पाउँने बताउनु भएको हो ।
आज मध्यपुरथिमिको नगदेशमा नेकपा मध्यपुरथिमि कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान एवं तुच्चा कार्यक्रममा बोल्दै उहाँले अहिले केन्द्रदेखि स्थानीय तहसम्म बलियो र स्थायी सरकार बनेकाले देशलाई समृद्धितर्फ लैजान एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनु भयो ।
त्यसका लागि सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने उहाँको भनाई छ ।
अध्यक्ष दाहालले नेपालले दुई छिमेकी चीन र भारतसँग सम्बन्ध अझ विस्तार गरी धेरै लाभ लिनसक्ने अवसर रहेको उल्लेख गर्नुभयो ।
नेपालमा पर्यटन, खानी, पानीलगायतका प्राकृतिक सम्भावना प्रशस्त भएपनि राजनीतिक अस्थिरताले देश पछाडि परेको बताउँदै अध्यक्ष दाहालले अब मुलुकलाई समृद्धितर्फ लैजाने समय आएको उहाँको भनाई छ ।
चुनावमा जनतामाझ जाँदा गरेका प्रतिबद्धता सरकारले पूरा गर्ने पनि अध्यक्ष दाहालले बताउनु भयो ।
काठमाडौँका खाल्डाखुल्डी पुर्ने र जनताको आकाङ्क्षा पूरा गर्नेबारेमा प्रधानमन्त्री र पार्टीको सचिवालयमा आफ्नो छलफल भइरहेको बताउनु भयो ।
विकास निर्माणलाई गति दिनेबारे समीक्षा शुरु गरेको बताउँदै उहाँले अब सम्बोधनको प्रक्रियालाई पनि तीव्रताका साथ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।