१९ असोज, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पोलिटब्यूरो सदस्य पदम राई र ओमप्रकाश पुन क्रमशः ९८ र ९५ दिन लामो हिरासतको बन्दी जीवनपछि आज रिहा भएका छन् ।
सर्वोच्च अदालतको आदेशमा नेताद्वय पुन र राई शुक्रबार रिहा भएका हुन् । गैरकानूनी थुनामा राखेको भन्दै रिहाईको मागसहित असोज ९ गते पुन पत्नी गौरा धामीले दायर गरेकी बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहस समेपछि न्यायाधीश मिरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासले दुवै जनालाई सरकारले प्रक्रिया नपुर्याई गैरकानूनी थुनामा राखेको ठहरसहित मुख्य रजिष्ट्रारको रोहवरमा तत्काल थुनाबाट मुक्त गर्न आदेश दिएको थियो ।
पछिल्लोपटक अुोज ७ गते राईलाई संखुवासभा र पुनलाई बाँकेबाट दाङ पुरयाई दाङ जिल्ला प्रहरीले ‘बम विष्फोट’ र कर्तव्य ज्यान’सम्बन्धी कसुर गरेको अभियोगमा मुद्दा चलाई हिरासतमा थुनामा राख्दै आएको थियो । राईलाई गएको असार १६ गते दिउँसो काठमाडौंको बालाजु नेपालटार र पुनलाई असार १९ गते साँझ ६ बजे कोठमाडौंकै लाजिम्पाटबाट गिरफ्तर गरिएको थियो । राईलाई काठमाडौं, मोरङ, संखुवासभा र दाङ घुमाए भने पुनलाई काठमाडौं, बर्दिया, कैलाली, बाँके र दाङ घुमाएपछि दाङको मुद्दाबाट निर्दोष ठहर भई रिहा भएका हुन् ।
रिहापछि स्वागत तथा विजयी जुलुस
रिहाईपछि नेताहरुलाई सर्वोच्च परिसरमा जम्मा भएको सयौं कार्यकर्ता, शुभचिन्तक र समर्थकहरुले अबिर माला र खादा लगाएर स्वागत गरे । साथै परिसरदेखि माइतीघर मण्डलासम्म सरकारविरुद्ध र नेकपाको पक्षमा नारा लगाउँदै विजयी र्याली गरेका थिए । र्लायीमा सयौं सख्यामा सर्वसाधारणसहित सहभागी भए । र्यालीपछि कोणसभाको आयोजना गरियो ।
कोणसभामा बोल्दै नेता पुनले सरकारले आफूमाथि षडयन्त्रपूर्वक झुठा मुद्दा लगाएर फसाउन खोजेको भन्दै स्वतन्त्र न्यायालयले सरकारको गलत योजनालाई खारेज गरिदिएर न्याय दिएको बताए । हिरासत बसाईको केही अनुभव सुनाउँदै नेता पुनले भने ‘प्रहरी, कर्मचारी समेत यो केपी–प्रचण्डको दलाल सरकारप्रति रुष्ट छन् । नेकपाले उठाएको एजेण्डा र राजनीतिक कार्यक्रमप्रति निकै आशावादी देखिएका छन् । भित्र रहँदा सहयोग पनि पाएँ ।’
हिरासतभित्रै पनि नेकपाको विचार र कार्यनीतिबारे बुझाउन र सरकारको राष्ट्रघाती, दलाल तथा भ्रष्टाचार चरित्रबारे भण्डाफोर गर्ने काम सहज रुपमा गरिएको बताए । देशको विकास र समृद्धि अहिलेको दलाल संसदीय व्यवस्थाकै कारण रोकिएको भन्दै यसलाई भत्काउन नेकपाले एकीकृत जनक्रान्तिको घोषणा गरेर राजनीतिक अभियान जारी राखेको बताए । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई राज्यले जोगाएको भन्दै अब जनताको पहलमा मात्र दोषीलाई कारवाही सम्भव रहेको नेता पुनले बताए । ‘यो सरकार दलाल, हत्यारा, बलात्कारी, तस्कर, भ्रष्टाचारी र राष्ट्रघातीहरुको संरक्षक हो । त्यसैले यसलाई भत्काएर वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापनाको विकल्प छैन’ पुनको भनाई थियो ।
त्यस्तै अर्का नेता राईले ९८ दिन लामो हिरासत बसाई देश र जनताको विकास र समृद्धिकै निम्ति भएको बताए । जनताको समृद्धि र देशको स्वाधीनताको रक्षाको लागि दलाल सरकारको झुठा मुद्दा र मानसिक तनाव खेपेर क्रान्तिलाई धोका पुग्नबाट बचाएको राईले बताए । ‘हिरातमा बस्दा देश र जनताको हितबाहेक केहीपनि देखेनौं, सोचेनौं । नेता कार्यकर्ता भनेकै मेरो लागि हिरासतको भित्ता र झ्याल–ढोका बन्यो । तैपनि एकदिन मुक्ति मिल्ने आत्मविश्वासका साथ नेपाली जनताको क्रान्तिलाई निरन्तर अगाडि बढाइरह्यौं नेता राई भने ‘जस्तोसुकै धम्की र मानसिक यातनाबीच पनि विचलित भइनँ । गलिनँ । क्रान्तिको गोपनियता जोगाएँ । आज स्वतन्त्र न्यायालयको आदेशमा रिहा भएँ । धन्यवाद छ । बाँकी जीवन क्रान्तिले पूर्णविजयी नभएसम्म समपिर्तत रहनेछु ।’
गृहमन्त्री बादललाई प्रश्न गर्दै राईले भने ‘देश र जनतालाई अधिकार सम्पन्न बनाउने, अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत आयोजना जस्तो राष्ट्रघाती सम्झौता खरानी नपारेसम्म अगाडि बढ्न सक्दैन । यिलगायत ठूला आयोजना देशकै लगानीमा देशको हितमा निर्माण गर्नुपर्छ भन्दा मैले अपराध गरेको भयो ? हामीलाई थुन्यौ ? नेपालको भू–भाग लिपुलेक भारत र चीन मिलेर निल्दा तिम्रो सुरक्षाकर्मी के गर्दैछन् ? तिम्रा बन्दुकमा खिया लागेकै हो ?’ थप प्रश्न गरे ‘यदि त्यसो हो भने ‘नेकपाले बढाएको क्रान्तिलाई सहयोग गर, नयाँ विचारको हतियारसहित विदेशी साम्राज्यवाद र दलाल पुँजीवादी तथा अतिक्रमणकारीविरुद्ध लडन तयार होऔ ।’ झुठा मुद्दा, यातना र दमनले नेकपालाई सिध्याउँछु भन्ने सपना नदेख्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई दुवै नेताले चुनौति दिए ।
गृहमन्त्री बादलले नेकपाका नेता कार्यकर्तालाई झुठा मुद्दामा फसाएर क्रान्तिलाई रोक्ने दुष्प्रयास गरेको बताउँदै देशभर थुनामा राखिएको सम्पूर्ण नेताकार्यकर्तालाई तत्काल निसर्त रिहा गर्न नेता पुन र राईले जोडदार माग गरे । साथै रिहाईको लागि पहल गर्ने मानवअधिकारकर्मी, वकिल, संचारकर्मी, नागरिक समाजलगायत सबै पक्षलाई धन्यवाद दिए ।