१५ असोज, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमलाई ‘गम्भीर’लाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि हुने भनिएको बहस आज पनि रोकिएको छ ।
नेताद्वयलाई थुनामा राखिएको जिल्ला संखुवा जिल्ला अदालतले बन्दीहरुको मिसिल उपलब्ध गराउन ढिलाई गरेपछि आज हुने भनिएको बहस रोकिएको हो । ‘सबै विपक्षीहरुबाट मिसिल प्राप्त भएकेको छ । बहसका लागि भोलि पेसी तोकिन्छ’ स्रोतले बतायो ।
कार्की र धमलालाई पछिल्लो पटक असोज ५ गते चौथोपटक गिरफ्तार गरी अरुण तेस्रो जलविद्युत आयोजनमास्थलमा आगजनी र विष्फोट गराएर ‘संगठित अपराध’ गरेको अभियोगमा संखुवासभा जिल्ला प्रहरीको हिरासतमा राख्दै आएको छ ।
उनीहरुलाई भने हिजै बहसमा उपस्थित गराउन हिजै राजधानी ल्याइसकिएको छ । आज दुवैजनालाई दरबारमार्ग स्थित प्रहरी वृत्तमा राखिने भएको छ । कार्की र धमलालाई पार्टी कामको सिलसिलामा काठमाडौं आउने क्रममा गएको साउन १० गते काठमाडौंको नागढुंगाबाट सादा पोशाकका प्रहरीले सार्वजनिक बसबाट गिरफ्तार गरिएको थियो ।
उनीहरुलाई यसअघि काभ्रेपलाञ्चोक, नुवाकोट र दाङ जिल्ला घुमाइसकेका छन् । सबैतिरको अभियोगमा दुवैजना निर्दोष सावित भई रिहा हुँदै आएका छन् । रिहालगत्तै गिरफ्तार गरी असोज ५ गते संखुवासभा पुर्याइएको थियो ।
त्यस्तै नेकपाकै पोलिटब्यूरो सदस्य ओमप्रकाश पुन र पदमबहादुर राईलाई ‘बम विष्फोट’ र ‘कर्तव्य ज्यान’ अभियोगमा अनुसन्धानका लागि भन्दै दाङ प्रहरीले हिरासतमा राखिराखेको छ । पुन र राईलाई गैरकानूनी रुपा थुनामा राखेको भन्दै रिहाईको माग राखेर सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसमा उपस्थित गराउन भोलि नै काठमाडौं ल्याइँदैछ ।