काठमाडौ, असोज ११ ।
संघीय संसद्को चालु बजेट अधिवेशन आजदेखि अन्त्य हुँदैछ । आज दिउँसो १ बजे प्रतिनिधिसभा र २ बजे राष्ट्रियसभा बैठक बस्दैछन् । दुबै सदनबाट अधिवेशन अन्त्यको घोषणा गरिँदैछ ।
संसदको चालु अधिवेशन वैशाख २३ गतेबाट सुरु भएको हो । करिब पाँच महिनापछि बजेट अधिवेशन अन्त्य गर्न लागिको हो ।
प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराको निजी सचिवालयका अनुसार दिउँसो १ बजेको बैठकमा सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
अधिवेशन अन्त्यका क्रममा दुबै सदनले अहिलेम्म गरेका काम कारबाहीको जानकारी दिनेछन् । चालु अधिवेशनमा सरकारको नीति तथा कार्यक्रममा छलफल र पारित गरेको थियो। यस्तै वार्षिक बजेट पेस भई पारित भएको छ ।
चालु अधिवेशनले नै प्रतिनिधिसभा तथा राष्ट्रियसभाको नियमावली पारित गरेको थियो। यस्तै, संघीय संसद्को संयुक्त सभा र समिति सञ्चालनसम्बन्धी नियमावली पनि यही अधिवेशनबाट पारित भएका हुन् ।
यस्तै, सरकारका तर्फबाट पेस भएका मौलिक हकका १६ कानुन दुबै सदनबाट पारित भई प्रमाणीकरण भइसकेका छन्। मौलिक हकबाहेक राहदानी विधेयक चालु अधिवेशनले पारित गरेको छ ।