काठमाडौं, असोज ९ ।
प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
उक्त समझदारीपत्रबाट दुई मुलुकबीचको सम्बन्धका आयाममा परामर्श गर्ने मार्ग खुल्ला भएको छ । समझदारीपत्रमा हस्ताक्षर गर्नुअघि प्रधानमन्त्री ओली तथा क्यानडाका समकक्षी ट्रुडोबीच छलफल भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि उच्चस्तरमा भेटवार्ता भएकोमा खुशी व्यक्त गर्दै नेपाल र नेपाली जनतालाई क्यानडा सरकार र क्यानडाका जनताका तर्फबाट प्राप्त सहयोग तथा भूकम्पपछिका समयमा भएका सहयोगका लागि धन्यवाद दिनुभयो ।
क्यानडाका प्रधानमन्त्री टु«डोले प्रधानमन्त्री स्तरमा भेटवार्ता गर्न पाउँदा र गहिरो दुईपक्षीय सम्बन्ध स्थापना गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुबै मुलुकका प्रधानमन्त्री त्यहाँ पुग्नुभएको हो ।