३१ भदौ, उदयपुर ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अनुसन्धानको लागि म्याद थप गर्न जिल्ला अदालत लैजाने तयारी गरिएको छ ।
दाङ प्रहीले लगाएको ‘बम विष्फोट’ र ‘कर्तव्य ज्यान’को अभियोगमा थुना राखिराखेको बेला अभियोग प्रमाणित हुन नसकेको ठहरसहित सर्वोच्च अदालतले दिएको आदेशबाट रिहा भएलगत्तै परिसरबाट गिरफ्तार गरी शनिबार दिउँसो उदयुपुरको सदरमुकाम गाइघाटमा दिउँसो पौने १ बजे पुर्याइएको थियो ।
त्यहाँ पनि प्रकाण्डलाई ‘बम विष्फोट’को अभियोग लगाइएको छ । सो विषयमा अनुसन्धानका लागि भन्दै अहिले जिल्ला अदालतमा लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो ।
गत बैशाखमा प्रदेश र प्रतिनिधि सभाको चुनावका बेला गाइघाट नजिकै उम्मेदवार लक्षित बम विष्फोट भएको घटनासँग जोडेर अभियोग लगाइएको नेपाल उदयुपुरले जनाएको छ ।
सोही विष्फोट घटनासँग जोडेर आजभन्दा करिब तीन महिना अघि नेकपा केन्द्रीय सदस्य किरण राईसहित पाँच जनालाई धनकुटा बजारबाट मध्यरातमा गिरफ्तार गरी हिरासतमा राखेर अनुसन्धान गरेपछि जिल्ला अदालतबाट धरौटीमा रिहा गरिएको थियो ।
प्रकाण्डलाई अदालतको रिहाईको आदेशपछि पाचौं पटक गिरफ्तार गरिएको हो ।
उनलाई पहिलोपटक गएको साउन २२ गते पार्टी कामको सिलसिलामा हैटौंडाबाट काठमाडौं आउँदै गर्दा फर्पिङ–बल्खु सकड खण्डअन्तर्गत टौदहनजिक चाल्नाखेलबाट गाडीसहित गिरफ्तार गरिएको थियो ।
फाइल फोटो