काठमाण्डौ, ३० भदौ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालल प्रचण्डले स्व.पोष्टबहादुर बोगटीको सम्झना गर्दै उहाँ कम्युनिष्ट आन्दोलनको एकताको पक्षमा रहेको व्याक्तित्व भएको चर्चा गर्नुभएको छ ।
पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आज पार्टी मुख्यालय धुम्बाराहीमा बोगटीको चौथाँै स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो केन्द्रीय कमिटी बैठकमा बोगटीले नै एमालेसँगको एकता गर्नुपर्दछ भनेर सहमति समेत गराएको बताउनु भयो ।
“त्यतिबेला बैठकमा हामीले एमालेसँग पार्टी एकता गर्ने प्रस्ताव ल्याएका थियौँ” उहाँले भन्नुभयो, “उक्त प्रस्तावलाई बैठकभित्र सहज ढङ्गले उहाँले सहमति गराउनुभएको थियो ।”
अध्यक्ष प्रचण्डले बोगटी सरल, वैचारिक निष्ठा, कार्यकुशल र पारदर्शी ढङ्गको नेता भएको स्मरण गर्नुभयो । उहाँले आन्दोलनले धेरै नेता जन्माए पनि बोगटीजस्तो विशिष्ट क्षमता र गुण भएको नेता पाउन गाह्रो भएको बताउनुभयो । जनयुद्ध ताकादेखि शान्ति प्रक्रियामा बोगटीले खेलेको भूमिका स्मरणयोग्य भएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले बोगटी भएको भए अहिले हामी दुई अध्यक्षबीच कतिपय कुरामा सहमति गराउन पनि भूमिका खेल्न सक्नेसमेत बताउनुभयो । “पार्टीमा हामी दुई अध्यक्ष छाँै । हामीबीच कतिपय कुरा मिलाउन अप्ठेरो आउन सक्दछन्” उहाँले भन्नुभयो, “तर उहाँ भएको भए हामीबीचका त्यस्ता अप्ठेरालाई मिलाउन सहज भूमिका निभाउनुहुन्थ्यो ।”
पूर्वप्रधानमन्त्री प्रचण्डले अहिले नयाँ युगमा आफूहरु प्रवेश गरेको भन्दै त्यो युगलाई सार्थक परिमाणमा पु¥याउन बोगटीमा भएको गुणलाई सिक्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा स्मृति प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेले बोगटी पार्टी्भित्र निष्ठावान् नेता भएकाले उहाँले देखाएको मार्गमा हिँडेर मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताउनुभयो ।
विसं २००९ साउन ३ गते बुबा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको काखबाट जन्मिनुभएका बोगटीको २०७१ भदौ ३० गते बोगटीको हृदयघात र मस्तिष्कघातका कारण ६२ वर्षको उमेरमा निधन भएको थियो । तत्कालीन माओवादी केन्द्रको केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका बोगटी ऊर्जामन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र माओवादी केन्द्रको संसदीय दलको नेतासमेत रहनुभएको थियो ।