२८ भदौ, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य (पीबीएम) उमा भुजेल ‘शिलु’को हकमा सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि भोलि मात्र बहस हुने भएको छ ।
सवोच्चको आदेशबमोजिम बिहीबार बिहान ११ बजे सर्वोच्च अदालतमा उपस्थित गराइएका भुजेललाई जिल्लाबाट उप्लब्ध मिसिल अध्ययन गर्न समय नपुगेको भन्दै भोलि बहसको लागि पेसी भोलिलाई सारिएको हो ।
गैरकानूनी रुपमा गिरफ्तार गरी प्रहरी हिरासतमा थुनामा राखेको जनाउँदै रिहाईको माग राखेर पदमबहादुर भुजेलले रिट गरेका थिए । रिट यो दोस्रो पटक हो । काभ्रेमा आगजनीको अभियोगमा थुनामा राखिएकी भुजेललाई सर्वोच्चको आदेशमा यसै हप्ता रिहा भएकी थिइन् ।
तर रिहालगत्तै अर्को आगजनीको अभियोगमा प्रहरीले गिरफ्तार गरी नुवाकोट सदरमुकाम पुर्याएर जिप्रका विदुरस्थित प्रहरी हिरासतमा राख्दै आएको छ । उनलाई आज बिहान धादिङको गल्छी हुँदै सर्वोच्च ल्याइपुर्याइएको हो ।
भोलि बहस हुने भएकोले आजको रात काठमाडौं राखिने भएको स्रोतले जनाएको छ । भुजेललाई काभ्रे प्रहरीको पत्रचारपछि यही भदौ १२ गते काठमाडौंको वनस्थलीबाट गिरफ्तार गरिएको थियो ।