२८ भदौ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोधमा आजको संसद बैठक अवरुद्ध गरेको छ ।
आज बिहान ११ बजेका लागी बोलाईएको प्रतिनिधिसभाको बैठक सुरु भए लगतै कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले समय दिएपछि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले निर्मला पन्तको हत्या दिनानुदिन नाटकीय बन्दै गएको बताउनु भयो ।
अनुसन्धानबाट वास्तविक दोषी पत्ता लगाउने भन्दा पनि राज्य संयन्त्र वास्तविकता ढाकछोप गर्न केन्द्रित रहेको देखिन थालेको भन्दै उहाँले यो घटनाले राज्य संरक्षित अपराधको स्वरुप लिइरहेको आभाष हुन थालेको बताउनु भयो ।
यस्तै रोल्पामा तरुण दलका नेताको हत्या भएको र पछिल्लो समय पत्रकारहरुलाई पक्राउ गरिएको भन्दै प्रधानमन्त्रीले संसदमा जवाफ दिनु पर्ने बताउनु भयो ।
सभामुखले सरकारको ध्यानाकर्षण गराउँदै उपयुक्त समयमा जवाफ दिने जानकारी दिनुभएके थियो । तर, कांग्रेस सांसदहरुले तत्काल जवाफ दिनुपर्ने भन्दै संसद अवरुद्ध गरेपछि आजकोब ैठक नै स्थगीत भयो ।
आजको बैठकमा विभिन्न ५ वटा विषयगत समितिले दफावार छलफल पछि ८ वटा विधेयक प्रतिवेदन सहित पेश गर्ने कार्यसुची थियो ।
संशोधन प्रस्तावसहित विभिन्न समयमा दफावार छलफलका लागि प्रतिनिधिसभाले दिएका ती विधेयकका बुँदामा समितिले सहमति जुटाएर आजको बैठकमा पेश गर्न लागेका थिए ।
प्रतिनिधिसभाको बैठक ८ दिनको स्थगनपछि आज बिहान ११ बजेका लागि बोलाइएको थियो ।
असोज २ गते भित्र मौलिक हकसँग सम्बन्धित बिभिन्न कानुन बनाईसक्नुपर्ने संवैधानिक प्रावधानका बीच सरकारले दर्जन बढी विधेयक प्रक्रियामा ल्याएको हो ।
बैठकमा आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ता संरक्षण विधेयक र रोजगारीको हक सम्बन्धी विधेयक प्रतिवेदन सहित बैठकमा पेश गर्ने कार्यसूची थियो ।
यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले खाद्य अधिकारसम्बन्धी विधेयक, राज्य व्यवस्था तथा सुशासन समितिले वैयक्तिक गोपनियता सम्बन्धी विधेयक, विकास तथा प्रविधि समितिले आवास अधिकार सम्बन्धी विधेयक प्रतिवेदनसहित पेश गर्ने तयारी गरिएको थियो ।
संसदकै शिक्षा तथा स्वास्थ्य समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, जनस्वास्थ्य विधेयक र अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी विधेयक प्रतिवेदनसहित बैठकमा प्रस्तुत गर्ने कार्यसूची पनि थियो ।
करिब एक दर्जन विधेयकहरु अझै सम्बन्धित समितिमा दफावार छलफलका क्रममा छन् ।
तस्विरः फाईल फोटो