२५ भदौ, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’लाई गैरकानूनी रुपमा प्रहरी हिरासतमा थुनामा राखेको भन्दै रिहाई मागसहित सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहस सकिएको छ ।
बहस सोमबार इजलास नम्बर ४ मा भएको हो । न्यायाधीश तेजबहादुर केसी र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा भएको थियो । आदेश आउन बाँकी छ । बहसमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, कान्तिराम ढुंगाना, अधिवक्ता कपिलचन्द्र पोखरेल लगायतले बहसमा भाग लिएका थिए ।
गएको साउन १० गते काठमाडौंको नागढुंगबाट गिरफ्तार गरी हिरासतमा राख्दै आएको बेला धमला पुत्र चेतन शर्माले दर्ता गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहसपछि सुनुवाई गर्दै भदौ १८ गते रिहा गर्न सर्वोच्चले आदेश दिएको थियो । तर रिहालगत्तै प्रहरीले अदालतपरिसरबाटै गिरफ्तार गरी नुवाकोट पुर्याएको थियो ।
दोस्रोपटक पनि शर्माले रिट निवेदन दर्ता गरेका थिए । दुवै जना नेतामाथि आगजनी गरेको अभियोग छ ।