काठमाडौं, २५ भदौ ।
प्रधानन्यायाधीशमा प्रस्तावित ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ आज हुँदै छ । समितिले मिश्रमाथि परेका ३ उजुरीमाथि आइतबार उजुरीकर्तासँग छलफल गरेको थियो ।
संसदीय सुनुवाइ समितिले मिश्रसँग सुनुवाइ गरी आज नै निर्णयमा पुग्ने सम्भावना प्रबल देखिएको छ । समितिका एक सदस्यका अनुसार आज मिश्र प्रधानन्यायाधीश हुने–नहुने टुंगो लाग्नेछ ।
समिति उच्चस्रोतका अनुसार उजुरीमाथिको सुनुवाई सकिएलगत्तै आज नै मिश्रको नाम अनुमोदन हुन सक्ने सम्भावना छ ।
यसअघि संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेको दीपकराज जोशीको नाम अस्वीकृत भएकाले पटक–पटक न्यायालयका पदाधिकारीलाई विवादमा नतान्ने पक्षमा सत्तारूढ र विपक्षी दल देखिएका छन् ।
मिश्रको प्रमाणपत्रमा प्रश्न गर्नुपर्ने ठाउँ देखिएको नभएपनि उजुरी भने परेको जनाईएको छ । ४ वटा उजुरी परे पनि अन्तिममा एउटा उजुरी फिर्ता भएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताउनु भयो ।
उजुरीकर्ताहरूसँग हामीले छलफल गरिएको जानकारी दिदै उहाँले अब प्रस्तावित प्रधानन्यायाधीशसँगको छलफलपछि निर्णय गर्ने बताउनु भयो ।
वरिष्ठताका आधारमा मिश्रलाई संवैधानिक परिषद्ले ७ भदौमा प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । परिषद्बाट पहिलो नम्बरमा सिफारिस भएका तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि मिश्रको नाम सिफारिस गरिएको हो ।
प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध परेका तीन उजुरीमा एनसेल काण्डदेखि श्रीमतीको हत्या गरेका पूर्व्डिआइजी रञ्जन कोइरालासम्मको मुद्दामा मिश्र भ्रष्टाचार तथा पक्षमा लागेको आरोप छ । उजुरीमा ‘रञ्जन कोइरालाविरुद्ध नेपाल सरकार वादी भएको मुद्दामा लाखौँ घुस खाएर श्रीमतीको हत्या गरेको मुद्दामा समेत झगडिया झिकाएको’ भनिएको छ ।
त्यस्तै, अछामको कालिकोटमा भएको डिल्ली स्वारसहितका चारजना अभियुक्तलाई लाखौँ घुस खाई २८ वैशाख ०७४ मा सफाइ दिएको उजुरीकर्ताको दाबी छ । एनसेलको मुद्दामा समेत करोडौँ खाएर अन्तरिम आदेश दिई राजस्व छली गर्न सहयोग गरेको, सूर्य नेपालको करछली मुद्दामा समेत मिश्रले सहयोग गरेको लगायत आरोप लगाइएका छन् ।