२४ भदौ, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जनयुद्धमा सँगै लडेका साथीहरु दलाल सरकारको ठेकेदार बनेर आफूहरुमाथि झुठा मुद्दा लगाइरहेको बताएका छन् ।
गत बुधबार भोजपुर जिल्ला अदालतको आदेशमा रिहा भएलगत्तै बम विष्फोट र कर्तव्य ज्यान अभियोगमा गिरफ्तार गरी शुक्रबार साँझ दाङ ल्याइपुर्याएका नेता प्रकाण्डलाई आज म्याद थप गर्न जिल्ला अदालतमा पेश गरिएको छ ।
म्याद थपको आदेशपछि जिल्ला प्रहरी कार्यालयको हिरासतमा लैजाने क्रममा उपस्थित संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रकाण्डले राज्य सत्ता चलाउने पूर्वसहकर्मीहरुबाट आफूमाथि विष्फोट र ज्यान लिएको जस्ता कपोलकल्पित र आधारहीन झुठा अभियोग लगाएर आफूलाई फसाउन खोजेको बताए ।
जनयुद्धको एजेण्डा र उद्देश्यलाई धोका दिएर दलाल संसदीय व्यवस्थाको ठेकेदार बन्न पुगेका प्रचण्ड र बादहरु अहिले देश र नागरिकको समृद्धिको लागि वैज्ञानिक समाजवाद स्थापनाको लागि नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा जनताले स्वविवेकले उठाइरहेको नेपाली क्रान्तिको ज्वाराभाटालाई कुल्चने दुष्प्रयासस्वरुप अहिले नेकपाका नेता र कार्यकर्तामाथि झुठा मुद्दा लगाउने खेती गरिरहेको बताए ।
उनले सरकारसँग नेकपामाथिको झुठा मुद्दा फिर्ता गरेर जनताको क्रान्ति र परिवर्तनको आन्दोलनलाई सम्पन्न गर्न दिनुको कुनै विकल्प नरहेको समेत प्रष्ट पारे । ‘यो हर्कत वर्तमान ओली–प्रचण्ड सरकारले कायम राखे निकट भविष्यमै तिर्न नसक्ने मूल्य चुकाउनुपर्नेछ’ पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिँदै भने ।
‘आज पनि न्यायाधीशसँग केही तर्क र बहस भयो । त्यो हेर्दा अभियोगबारे तथ्य र आधार केही पनि छैन । तैपनि बनावटी अभियोग बनाएर फसाउन खोज्दै हुनुहुन्छ भन्ने नै देखिन्छ’ उनले भने ‘यो भनेको विशुद्ध राजनीतिक पूर्वाग्राह र प्रतिशोध बाहेक केही होइन ।’ आफू प्रतिशोधको सामना गर्न तयार रहेको पनि स्पष्टसँग बताए ।
‘सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादलप्रति लक्षित गर्दै जनयुद्ध लड्दा सँगै भएका साथीहरु अहिले जनताले चलाइरहेको क्रान्तिसामू प्रतिक्रान्तिकारी बनेर खडा भएका छन्’ प्रवक्ता प्रकाण्डले भने ‘यो दुष्साहास नरोके ठूलो मूल्य चुकाउनको विकल्प छैन ।’
आफूहरुले राजनीतिक तवरबाट देश र जनताको पूर्णस्वतन्त्र, मुक्ति र अधिकारको लागि संघर्ष उठाइरहेको प्रष्ट पार्दै नेता प्रकाण्डले केपी–प्रचण्ड नेतृत्वको दलाल ठेकेदारको सरकार छिट्टै टाट पल्टिने प्रतिक्रिया दिए । ओली–प्रचण्ड र बादलहरु बन्दुकको बलमा झुठा अभियोगको खेती गरिरहेको उनको भनाई छ ।
देशीविदेशी कुनै षडयन्त्रकारी तत्वले लगाएको तागतले जनताले शुरु गरेको परिवर्तनको आन्दोलन नरोकिने
अदालतले आजबाट लागू हुने गरी तीन दिन अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ ।