मुस्ताङ, भदौ २३ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले कोरला नाका सञ्चालन भएमा नेपाल, भारत र चीनबीच त्रिदेशीय व्यापारिक सम्बन्ध विकास हुने बताउनुभएको छ ।
जोमसोम विमानस्थलमा आज स्थानीय पत्रकारसँग कुरा गर्दै छिमेकी देश चीनसँग सीमा जोडिएको उत्तरी कोरला नाका सञ्चालनमा आउन सकेमा चीन र नेपालको मात्र नभई त्रिदेशीय व्यापारिक सम्वन्ध विस्तारमा योगदान पुग्ने बताउनु भयो ।
अध्यक्ष तिमिल्सिनाले यसका लागि कोरला नाकाको नियमित अनुगमन र पुर्वाधार विकास कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्न आवश्यक रहेको बताउनु भयो ।
कोरला नाकालाई लक्षित गरेर सुरु गरिएको निर्माणाधीन बेनी–जोमसोम र जोमसोेम–कोरला सडकलाई चाँडोभन्दा चाँडो स्तारोन्नति गर्न आफ्नो तर्फबाट प्रयास भईरहने बताउनु भयो ।
अध्यक्ष तिमिल्सिनाले कोरलानाकामा भन्सार, अध्यागमन र सुख्खाबन्दरगाह जस्ता पूर्वाधार निर्माण गरी नाका सञ्चालनमा ल्याउनुपर्ने बताउनु भयो । उहाँले कोरला नाका सञ्चालनमा आउन सकेमा गण्डकी प्रदेशको मात्र नभई समग्र मुलुककै लागि दुरगामी प्रभाव पार्ने जनाउनु भयो ।
मुक्तिनाथ गुरुयोजना कार्यान्वयनबारे सोधिएको प्रश्नमा अध्यक्ष तिमिल्सिनाले पर्यटन मन्त्रालयले तयार गरेको गुरुयोजनाले मुस्ताङको मात्र नभई गण्डकी प्रदेशकै धार्मिक पर्यटनमा श्रीबृद्धि हुने उल्लेख गर्नुभयो ।
विगतमा योजनाहरु कम बन्ने गरेको र बनेका योजनाहरु पनि समयमा सम्पन्न हुन नसकेको उल्लेख गर्दै उनले यस्ता प्रबृत्तिहरुको अन्त्य हुनुपर्ने जिकिर गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले आजै जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुलाई जनताप्रति उत्तरदायी भएर कार्यसम्पादन गर्न निर्देशन दिएको उहाँका प्रेस सल्लाहाकार अशोक पौडेलले जानकारी दिनुभयो ।