१७ भदौ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको बन्दिप्रत्यक्षीकरणको रिट निवेदनमाथिको बहस सकिएको छ ।
बिनाकारण सरकारले गैरकानूनी तरिकाले गिरफ्तार गरी गैरन्यायिक ढंगले थुनामा राखेको भन्दै प्रकाण्डका भाई बिरेन्द्र बिकले सर्वोच्चमा दायर गरेको निवेदनमाथि आज ईजलास नम्बर १ मा बहस भएको थियो ।
न्यायधिसद्धय सपनाप्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा भएको बहसमा रिट निवेदकका तर्फबाट २७ जना वकिलहरुले बहस गरेका थिए भने बिपक्षबाट एक जनाले मात्रै गरेका थिए ।
रिट निवेदकका पक्षबाट बहस गर्ने अधिवक्ताहरुले नेकपा प्रवक्ता प्रकाण्डालाई थुनामा राख्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।
उनीहरुले सर्वाेच्चले रिहा गरेपछि अदालत परिसरबाटै पुनः गिरफ्तार गर्नु स्वतन्त्रन्यायलयमाथिको ठाडो हस्तक्षेप भएको भन्दै पक्राउमा संलग्नहरुलाई पनि कानुनी दायरामा ल्याएर कार्वाहि गर्नुपर्ने जिकिर गरे ।
रिट निवेदकको पक्षमा आज बरिष्ठ अधिवक्ताहरु सम्भु थापा, एकराज भण्डारी, रमन कुमार श्रेष्ठ, डा चन्द्रकान्त ज्ञवाली, वालकृष्ण न्यौपाने, तुल्सी भट्ट, सुशिल कुमार भट्ट र अधिवक्ताहरु कपिलचन्द्र पोख्रेल, योगेन्द्र बहादुर अधिकारी, मनोहर लामिछाने, शिवकुमार यादव, सिमानन्द अधिकारी, लक्ष्मण थपलिया, गौरी न्यौपाने, अरुण पौडेल लगायत २७ जनाले बहस गरेका थिए । अदालतको आदेश भने केहिबेरमा मात्रै आउने जनाईएको छ ।
सर्वोच्च अदालतले रिहा गरेलगत्तै गत भदौ ७ गते अदालत परिसरबाटै बल प्रयोग गरेर प्रहरीले उहाँलाई गिरफ्तार गरेको थियो । लगत्तै उहाँलाई राती नै नुवाकोट पुर्याईएको थियो ।
यसअघि हिजो मात्रै प्रकाण्डलाई जिल्ला अदालत नुवाकोले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।