नेकपाका नेतालाई भौतिक रुपमै सिध्याएर शासन टिकाउँछु भन्ने सपना नदेख्न प्रकाण्डको चेतावनी, हिरासतबाटै ओलीलाई दिए यस्तो सुझाव

नेकपाका नेतालाई भौतिक रुपमै सिध्याएर शासन टिकाउँछु भन्ने सपना नदेख्न प्रकाण्डको चेतावनी, हिरासतबाटै ओलीलाई दिए यस्तो सुझाव

  • शनिबार, भदौ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 47.7K
    SHARES

काठमाडौं, १६ भदौ ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्डले’ अहिले देशमा प्रतिक्रान्ति सुरु भएको बताउनु भएको छ । उहाँले प्रतिक्रान्तिकै कारण देश चरम संकट फस्दै गएको बताउनु भयो ।

सरकारको झुठा अभियोगमा नुवाकोटको विदुरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहनुभएका प्रवक्ता प्रकाण्डसँग क्रान्तिकारी पत्रकार संगठनका प्रतिनिधिले गरेको भेटकाक्रममा उहाँले आफूमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको र झुठा अभियोग लगाएर दुःख दिने काम गरेको भन्दै देशमा प्रतिक्रान्ति शुरु भएको बताउनु भयो ।

जतिसुकै अभियोग लगाएपनि आफू त्यसको प्रतिवाद गर्न तयार रहेको भन्दै उहाँले नेकपा र तिनका नेताहरुबारे सरकारले छर्ने भ्रमबाट मुक्त भएर सत्यतथ्य समाचार बाहिर ल्याउन समेत आग्रह गर्नुभयो ।

जनयुद्धमा उठाइएका मागहरुलाई लत्याएर संसदीय फोहोरी खेलमा डुब्न पुगेका जनयुद्धका तत्कालीन नेतृत्व प्रचण्ड र तिनका आसेपासेहरु सत्तामा बसेर क्रान्तिकारीहरुमाथि दमन र हस्तक्षेप गरेर प्रतिक्रान्तिको शुरुवात गरेको उहाँले बताउनुभयो ।

प्रकाण्डले अहिलेको बुर्जुवा गणतन्त्र ल्याउन केपी ओलीहरुको कुनै भूमिका नभएको र गणतन्त्रको नारा लगाउँदै हिँड्ने तत्कालीन नेकपा (माओवादी)विरुद्ध सुराकी गरेर हत्या र जेलमा सडाउने षडयन्त्रमा रहेको बताउनु भयो ।
साथै बुर्जुवा गणतन्त्र जनयुद्ध बेलाको उद्देश्य नभएको र अहिले पनि आफूहरुले लक्ष्य त्यो नभई वैज्ञानिक समाजवादी व्यवस्था भएको स्पष्ट पार्नुभयो ।

सरकारमा बसेर नेकपाका केही नेतालाई भौतिक रुपमै सिध्याएर शासन टिकाउँछु भनेर नसोच्न समेत सरकारलाई चेतावनी दिनुभयो ।

क्रान्ति नेपालको आवश्यकता र अनिवार्यता बनिसकेको भन्दै दमन, हस्तक्षेप र झुठा मुद्दाले परिवर्तनकारी जनताले उठाएको क्रान्ति नरोकिने उहाँको भनाई छ ।
नेकपामाथि जबर्जस्त रुपमा संगठित अपराधी र उग्रपन्थीको दर्जमा राखेर दमन गर्ने षडन्त्रमा देशीविदेशी दलाल पूँजीहरु लागिपरेको र केपी–पिके सरकार तिनका मतियार बनेर क्रान्तिको अगाडि प्रस्तुत आएको धारणा उहाँको छ ।

‘जनयुद्धले सामन्ती राजतन्त्र ढाल्यो । केपीहरु त्यही राजतन्त्रको कालकोठरीमा थिए । आज प्रचण्ड–बादलहरु जनयुद्धको उद्देश्य र लक्ष्यमाथि गद्दारी गरेर संसदमा छिरेपछि केपीहरु हौसिएका छन्’ प्रकाण्डले भन्नुभयो, ‘जनतामाझ् बद्नाम र नाङिगइसकेको यो सरकार छिट्टै टाट उल्टिँदैछ ।’

प्रतिक्रान्तिलाई पराजित गर्नकै निम्ति क्रान्ति झनै अनिवार्य बन्दै गएको र जनता यसैमा गोलबन्द हुन समेत उहाँले सबैसँग अपिल गर्नुभयो ।

केपी–प्रचण्ड सरकारले मानवअधिकार र न्यायायिक स्वतन्त्रको धज्जी उडाउँदै आफैंले बनाएको नियम कानून कुल्चँदै फासीवादी बन्न पुगेको उहाँको भनाई छ ।

तत्कालीन जनयुद्धका सहकर्मीबाटै नेकपा यसका नेताहरुमाथि दमन र हस्तक्षेपबारे राखिएको पत्रकारको जिज्ञासामा प्रवक्ता प्रकाण्डले ‘जनयुद्धका सहकर्मीमध्ये निजी लाभ र स्वार्थमा फसेका प्रचण्ड–बादलहरुलगायत केही मान्छेहरुबाट अहिले जनतालाई पूर्णअधिकार सम्पन्न तुल्याउन र अलपत्रमा पारिएका क्रान्ति पूरा गर्न क्रान्तिको झण्डा उठाइरहेका हामीमाथि दमन र झुठा मुद्दा थोपर्ने श्रृंखला मच्चाउनु प्रतिक्रान्तिको उच्चतम् नमूना भएको बताउनु भयो ।

जनता छिट्टै सरकारको दमन र अत्याचारविरुद्ध प्रतिरोधमा उत्रने जिकिर उहाँको छ । सर्वोच्च अदालतको आदेशमा रिहा भएलगत्तै यही भदौ ७ गते साँझ सर्वोच्च परिसरबाट तेस्रोपटक गिरफ्तारपछि उहाँलाई नुवाकोट लगिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ