१५ भदौ, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
शुक्रबार भएको समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्र हस्ताक्षर भएको छ । यो सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदानप्रदानको बाटो खोल्नेछ ।
बिम्स्टेकको चौथो शिखर सम्मेलन समापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सङ्गठनको अध्यक्षता गरेका बेला सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखबाट निरन्तर प्राप्त सहयोगप्रति आभार प्रकट गर्नुभयो । प्रधानमन्त्रीले सम्मेलनबाट पारित १८ बुँदे घोषणापत्रको प्रभावकारी कार्यान्वयनमा सबैबाट सक्रिय सहयोग, साथ र समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण निर्वाह गर्नुभएका बिम्स्टेकका महासचिव, सदस्य देशका सम्बद्ध निकायका पदाधिकारी, नेपालका सुरक्षाकर्मी, सञ्चारकर्मी, विद्वत्वर्गलगायत सबैमा उहाँले कृतज्ञता व्यक्त गर्नुभयो । नेपालले सार्क र बिम्स्टेकजस्ता क्षेत्रीय सङ्गठनका शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेर अन्तर्राष्ट्रिय समुदायमा कूटनीतिक क्षमता प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण पनि गर्नुभयाे ।
बिमस्टेकको अध्यक्षता नेपालले २०१४ देखि गर्दै आएको थियो ।
सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, बंगालदेशी प्रधानमन्त्री, शेख हिसना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुत च्यान ओचा सहभागी थिए ।
दुई दिने सम्मेलनका लागि आएका अतिथिमध्ये बंगलादेशकी प्रधानमन्त्री हसिना, म्यान्मारका राष्ट्रपति विन, थाइल्याण्डका प्रधानमन्त्री प्रयुट र भारतका प्रधानमन्त्री मोदी शुक्रबार नै र्फकदै छन् ।
मोदीले स्वदेश र्फकनुअघि पशुपति क्षेत्रमा निर्मित धर्मशाला उदघाटन गर्ने कार्यक्रम छ । केहीबेरमा प्रधानमन्त्री केपी शर्मा ओली र मोदीको उपस्थितिमा रक्सौल-काठमाडौं रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतापत्रमा हस्तक्षार हुने बताइएको छ ।
पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ । बिमस्टेक सम्मेलन २००४ मा थाइल्याण्ड, २००८ मा भारत र २०१४ मा म्यान्मारले आयोजना गरेको थियो ।