काठमाडौँ, भदौ १२ ।
राष्ट्रिय सभाका विभिन्न विषयगत समितिका सभापति पदका लागि आज मनोनयन दर्ता हुँदैछ । राष्ट्रिय सभाका सांसदहरूले सभापतिका लागि उम्मेदवारी दिन एक जना प्रस्तावक र एकजनाको समर्थन सहित आज संसद् सचिवालयमा मनोनयन दर्ता गर्नुपर्ने छ ।
त्यसका लागि अपरान्ह ४ बजे सम्मको समय छुट्याइएको छ । समितिका ज्येष्ठ सदस्यहरूको अध्यक्षतामा भोली चार विषयगत समितिहरु बैठक बसी राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० बमोजिम सभापतिको चयन गर्नेछन् ।
निर्धारित समयभित्र दर्ता भएका प्रस्तावकको दर्ता क्रमअनुसार सम्बन्धित समतिको सूचना पाटीमा सूची प्रकाशन गरिनेछ । यसैगरी सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले सम्बन्धित प्रस्तावको समर्थन र उक्त प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछ ।
राष्ट्रिय सभाका दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिका लागि सभापतिको मनोनयन हुन लागेको हो ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले एकजनाको मात्र मनोनयन दर्ता भएमा सम्बन्धित समितिको बैठकमा सभापतिको निर्धारण हुने जानकारी दिनुभयो । उहाँक अनुसार एकजनाभन्दा बढीको मनोनयन दर्ता भएमा क्रमैसँग निर्णयार्थ प्रस्तुत गरिने जानकारी दिनुभयो ।
यस अघि भदौ ३ गते हुने भनिएको निर्वाचन हेरफेर गरी १० दिन पछाडि सारिएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विशेष कारणवश समितिका सभापतिहरूको निर्वाचन सार्नुपर्ने भन्दै निर्वाचनका लागि भोलीका तोक्नुभएको थियो ।