काठमाडौं, भदौ १२ ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास विमस्टेकको परराष्ट्र सचिवस्तरीय बैठक आज काठमाडौंमा सुरु भएको छ । पर्सि बिहीबार र शुक्रबार हुने चौथो शिखर सम्मेलनको एजेण्डा तय गर्न सदस्य मुलुकका परराष्ट्र सचिवको बैठक बसेको हो ।
काठमाडौंस्थित सोल्टी होटलमा जारी कार्यक्रमको उद्घाटन परराष्ट्र मन्त्रालयका सचिव शंकरदाश बैरागीले गर्र्नुभएको हो । बैठकमा चौथो सम्मेलनका लागि १६ औं बिमस्टेक मन्त्रिस्तरीय बैठकले प्रस्ताव गरेका एजेण्डा माथि छलफल हुनेछ ।
बैठकले तयार पार्ने काठमाडौं घोषणापत्रका बुँदालाई भोली बस्ने मन्त्रिस्तरीय बैठकले अनुमोदन गरि राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने सम्मेलनका लागी पठाईनेछ ।
सचिवस्तरीय बैठकमा क्षेत्रीय लगानी तथा व्यापार, पारवहन तथा सञ्चार, प्रविधि, प्रतिआतंकवाद तथा अन्तरदेशीय अपराध, कृषि, गरिबी निवारण्ण र जनस्वास्थ्य गरी सहयोगका सात विषयमामा ७ सदस्य राष्ट्रबीच विद्युत प्रशारणका लागी ग्रिड कनेक्सन निर्माण सम्झौतामा छलफल हुनेछ ।
यसैबीच, भोलि हुने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन विमस्टेक सदस्य राष्ट्रका परराष्ट्रमन्त्री आज काठमाडौं आउँदैछन् ।
भारतका सुष्मा स्वराज, बंगलादेशका अबुल हसन महमुद अलि, श्रीलंकका वसन्थ सेनानायके, भुटानका डाम्चो दोर्जी, थाईल्याण्डका डन पाराडविनाई, म्यानमारका यु कअ तिन काठमाडौं आउँदै हुनुहुन्छ । विदेशमन्त्रीहरुको सम्मानमा आज परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले रात्रीभोजको आयोजना गर्नुभएको छ ।
मन्त्रीस्तरीय बैठकले सचिवस्तरीय बैठकले तयार पारेको प्रतिवेदन माथि छलफल गर्दै शिखर सम्मेलनका लागी अनुमोदन गर्नेछ । सम्मेलनमा हस्ताक्षर हुने सम्झौता पत्र तथा काठमाडौं घोषणापत्रलाई मन्त्रीस्तरीय बैठकले अन्तिम रुप दिनेछ ।