७ भदौ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खडगबहादुर विश्वकर्मा प्रकाण्डलाई सर्वोच्च अदालतको परिसरबाट फेरि गिरफ्तार गरेको छ ।
दोस्रो पटकको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसपछि सर्वोच्चका न्यायाधिश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विपक्षीले गरेको गिरफ्तार दाबी कानूनसम्मत नभएको भन्दै तत्काल रिहा गर्न आदेश दिएको थियो ।
आदेशपछि गेटबाहिर निस्कने क्रममा प्रवक्तालाई अनामनगर प्रहरी वृत्तका डीएसपी केके आचार्यको नेतृत्वमा तैनाथ सय भन्दा बढीको प्रहरीको टोलीले पुनः गिरफ्तार गरेको हो । गिरफ्तार गरेपछि बा २ झ १९०२ नम्बरको प्रहरीको टाटाको डबल क्याबिन भएको निलो रंगको पिकअप भ्यानमा राखेर लगिएको छ । गिरफ्तारका क्रममा प्रकाण्डले नेपाल कम्युनिस्ट जिन्दावाद, दलाल सरकार मुर्दावाद नारा लगाएका थिए । त्यहाँ उपस्थित सयौं कार्यकर्ताले पनि प्रकाण्डसँगै सरकारविरुद्ध चर्कोसँग नाराबाजी गरे ।
केहीबेरको नाराबाजीपछि प्रहरीसँग नेकपाका कार्यकर्ताको दोहोरो धकेलाधकेल चल्यो । प्रकाण्डलाई एसएलआर हतियारले सुसज्जित दर्जनौं प्रहरीले लछारपछार गरी भ्यानभित्र कोचेको थियो (हेर्नुस् भिडियो) । भ्यानमा कोचेर कहाँ र किन लगियो भन्ने जवाफ प्रहरीले दिन मानेनन् । अर्को मुद्दा परेको भन्ने माथिको आदेश छ, त्यसैले पक्रेको हो प्रहरीको भनाई थियो ।
साउन २२ मा गिरफ्तारपछि बन्दी प्रत्यक्षीकरण रिटमाथि भदौ १ गते न्यायाधिश चोलेन्द्र शमसेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको थियो । रिहापछि राति ९ बजेसम्म सर्वोच्च परिसरमा कुरेर काठमाडौं प्रहरीले मानवअधिकार आयोगको गाडीबाट राति ९ बजेर १० मिनेट जाँदा जबर्जस्त गिरफ्तार गरिएको थियो । गिरफ्तारपछि काभ्रे सदरमुकाम धुलिखेलमा पुर्याएर हिरासतमा राखिएको थियो ।
त्यसपछि सरकारले उक्त गिरफ्तार र थुनामा राखेर गैरकानूनी हर्कत गरेको भन्दै रिहाइको माग गर्दै विरेन्द्र विकले भदौ ३ गते बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । रिटमाथि बिहीबार लामो बहसपछि न्यायाधीशद्वयबाट रिहा गर्न आदेश भएको थियो । आज भएको प्रकाण्डको गिरफ्तारको चौतर्फी विरोध भएको छ ।
प्रकाण्डको पक्षबाट वरिष्ठ अभिवक्ताहरु शम्भु थापा, बालकृष्ण न्यौपाने, एकाराज भण्डारी, पूर्वमहान्यायाधिवक्ताहरु हरि फुयाँल र रमण श्रेष्ठ, अधिवक्ता कपिलचन्द्र पोखरेललगायत ३१ जना वकिलहरुले बहस गरेका थिए । सरकारको तर्फबाट एकजना वकिलले मात्र बहस गरे ।
भिडियाे अपलाेड हुँदैछ ।
https://youtu.be/GJrIxBafMwk
यस्तो छ अदालतको अादेश ।

