काठमाडौं, ३ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुचनाको हकको बिषयमा कानुनी प्रक्रियाको अनुसरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशबासीलाई आहवान गर्नुभएको छ ।
राष्ट्रिय सूचना दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको मर्मअनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न सरकारका सबै निकायलाई आग्रह गर्नुभयो ।
उहाँले राज्यका काम कारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सुचनामा आमनागरिकको पहुँच सरल र सहज हनुपर्ने बताउनु भयो ।
नागरिकलाई कसैको व्यक्तिगत मामिला वा आम सरोकार नभएका विषयमा सूचनाको हक आकर्षित नहुने कुरातर्फ समेत प्रधानमन्त्रीले सजग गराउनुभएको छ ।
सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तब्यको पनि ख्याल गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित बिषयमा सुचना माग्नु उचित नहुने उल्लेख गर्नुभएको छ ।
वर्तमान सरकार पारदर्शीता, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र जवाफदेहीताको संस्कृतीमा आधारित भएर सुशासनलाई अघि बढाइरहेको उहाँको दाबी छ ।
सुशासनलाई मजवुद बनाउदै समृद्ध नेपाल, सुखी नेपालीको मूल ध्येयलाई साकार तुल्याउन सरकार अघि बढेको सन्देशमा उल्लेख छ ।