दोरम्बाबाट अपमानित भएर फर्किए प्रचण्ड, शहिद परिवारले के भने ?

दोरम्बाबाट अपमानित भएर फर्किए प्रचण्ड, शहिद परिवारले के भने ?

  • शनिबार, भदौ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 34K
    SHARES

२ भदौ, काठमाडौं ।
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोरम्बाबाट अपमानित भएर फर्किएका छन् ।

प्रचण्ड दोरम्बा हत्याकाण्डको १५औं शहिद स्मृति दिवसमा शहिद परिवारलाई सम्मान व्यक्त गर्न हिजो बिहीबार एक समूहको साथमा हेलिकोप्टर चाढेर दोरम्बा पुगेका थिए । तर त्यहाँ पुग्नुअगावै जनयुद्धको उद्देश्यमाथि गद्दारी गरेको भन्दै उनीविरुद्ध शहिद परिवार, जनयुद्धका पीडित र नेकपाका कार्यकर्ताले नाराबाजी र कालोझण्डासहित तयारीमा बसेका थिए ।

कार्यक्रमस्थल पुगेको केहीबेरमै अध्यक्ष प्रचण्ड समूहमै सरिक संघीय सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’को साथ लिएर हेलिकोप्टरबाटै शहिद स्मृति पार्कतर्फ हान्निए । स्मृति पार्कमा उनी धेरैबेर टिक्न सकेनन् । त्यहाँ पनि असन्तुष्ट जनताले नाराबाजी गर्ने तयारी भएको बुझेपछि पाँच सात मिनेटजति यताउता हेरेर हेलिकोप्टरबाटै नजिकैको सैन्या ब्यारेक फर्किए । यो ब्यारेक यही दोरम्बा हत्याकाण्डपछि स्थापना गरिएको हाे । त्यो बेला प्रचण्ड भय र हतासमा देखिएको प्रत्यक्षदर्शीले जानकारी दिए ।

त्यसपछि कार्यक्रमस्थल बजारमा हेलिकोप्टरमै आए । ब्यारेकको बसाई लम्बिएका कारण दोरम्बा गाउँपालिकाले आयोजना गरेको उक्त सम्मान कार्यक्रममा अतिथि आसन ग्रहण गराउने कार्यक्रम भने उनी पुग्नुपहिल्यै खत्तम भइसकेको थियो । कार्यक्रममा प्रमुख अतिथि बनाइएका प्रचण्ड पुग्नुपहिल्यै आसन ग्रहण सकिएको देखेर त्यहाँ सहभागीहरुबीच लामै हाँसो चलेको थियो । त्यतिबेला प्रचण्डमा लज्जाबोध भाव देखियो । त्यो देखेर प्रमुख अतिथि प्रचण्डले बोल्ने पालोमा ‘नयाँ–नयाँ पार्टीको नयाँ–नायाँ तरिका, यस्तै हुन्छ ठानौं । अप्ठ्यारो मान्नु हुँदैन’ भनेर सम्बोधन शुरु गरे । सहभागीहरुबीच हाँसो झनै बढ्यो । प्रचण्ड मञ्चमै कानेखुशी गर्नतिर लागे ।

त्यस्तै शहिद र बेपत्ताहरुको सम्मानमा एक मिनेटको मौनधारण स्वागत भाषणपछि मात्र गरे । आसन ग्रहणलगत्तै गरिनुपर्ने मौनधारण स्वागत भाषणको पछाडि पुर्याएरको देखेर प्रचण्ड फेरि जिल्ल खाए । एक मिनेटको मौनधारण पनि ९ मिनेटमै अन्त्य गरिदिए । त्यसरी आफू प्रमुख अतिथि रहेको कार्यक्रमको भद्रगोल तरिका देखेर उनी कालोनिलो भए । त्यतिबेला पनि प्रचण्डले ‘यस्तै हो, यस्तै हो भन्ने ठानौं’ मात्र भने ।

प्रचण्डले प्रमुख अतिथिको आसन ग्रहण गर्दैगर्दा उनलाई शहिद परिवारका सदस्यहरुले ‘जनयुद्धका महागद्दार र शहरका दलाल’ भन्दै विरोधमा कालो झण्डा देखाए । त्यसमा साथ दिए नेकपाका स्थानीय कार्यकर्ताले । उनीहरुले आफन्तको रगतलाई कुल्चेर जनयुद्धको सपनालाई धोका दिएको प्रचण्डविरुद्ध चर्को नाराबाजी गरे । त्यसमा साथ दिए नेपाल कम्युनिस्ट पार्टीका स्थानीय कार्यकर्ताले । उनीहरुले प्रचण्डलाई ‘सामाजिक फासीवादी र दलाल पूँजीवादी’ भन्दै चर्को नाराबाजी गरेका थिए । उनी एमालेसँग पार्टी मिलाएपछि सहज हुने ठानेर यो वर्ष दोरम्बा हत्याकाण्डस्थल गएका हुन् । तर आयोजकले बताएजस्तो परिस्थिति नपाएको र आफू अपमानित भएको महसुस प्रचण्डले गरेको (नेकपा)का स्थानीय कार्यकर्ताबीच उनी काठमाडौं फर्किएपछि चर्चाको विषय बनाइयो ।

आयोजकको कमजोरीले गर्दा शहिद परिवारलाई गलामा रातो खादा परिहिएका प्रचण्डले सम्मानपत्रबिनै खादा लगाइदिएर सम्मान गरे । खैरेनीघाट हुँदै सित्खादेखि शैलुङ डाँडासम्म सडक जोड्ने आश्वासन भाँडे । रामेछापमा अब खानेपानी, स्वास्थ्य सेवा केही अभाव नहुने बताए । कार्यक्रममा प्रदेश ३ का वित्तीय मन्त्री कैशाल ढुंगेल, जिल्ला सीडीओ, डीएसपीलगायत अतिथिको रुपमा उपस्थित थिए ।

शहिद परिवारले के भने ?

तत्कालीन जनयुद्ध चलाइरहेको नेकपा (माओवादी)को जिल्ला जनसरकार प्रमुख बाबुराम लामा ‘पुष्प’लगायत २१ जना निहत्था कार्यकर्ताको तत्कालीन शाही नेपाली सेनाले निर्मम तरिकाले हत्या गरिएको डाँडाकटेरीसम्म पुग्न नसकेका प्रचण्डले सडक जोड्छु र र संसदीय व्यवस्थाबाटै समृद्धि ल्याउँछु भनेर भाँडेको आश्वासनप्रति शहिद परिवार र सर्वसाधारणले विश्वास गरेनन् ।

रामेछाप ब्यारेकबाट २०६० साउन ३२ गते बिहान दोरम्बा बस्तीमा एक घरमा बैठक बसिरहेका बेला पुगेका शाही सेनाले नियन्त्रणमा लिई २१ जनालाई सबैका हात पछाडिपट्टिबाट डोरीले बाँधेर करिब डेढ घण्टा हिडाई डाँडाकटेरी भन्ने ठाउँ (बस्तीविहीन) पुर्याएर लाइन लगाई गोली हानेर हत्या गरिएको थियो । हत्यापछि सम्पूर्ण शवलाई भीरबाट लडाइदिए । स्मृति पार्क हत्यास्थलबाट केही पर बनाइएको छ । प्रचण्डले डाँडाकटेरीमा जान्छु भनेको धेरैपटक भएपनि अहिलेसम्म गएका छैनन् । कारण बनाइया सुरक्षाकै ।

सेनाले भीडन्तमा मारिएको भनिएपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै सरकारको भीडन्त नभई निशस्त्र अवस्थामा नियन्त्रणमा लिई गरिएको हत्या भनेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सरकारको चर्को विरोध भएपछि  मानवअधिकारको टोलीको पहलमा शव परिक्षण (पोस्टमार्टम) गरियो । परिक्षणपछि फोरेन्सिक विभागका प्रमुख डा. हरिहर वस्तीले २१ जनाको मृत्यु भीडन्त नभई हत्याबाट भएको रिपोर्ट दिए । कृष्णजंग रायमाझी नेतृत्वको छानविन आयोगले पनि अनुसन्धान गरेर राज्यबाट युद्दविराम विपरीत निहत्थाको हत्या गरेको रिपोर्ट दियो ।

त्यसबेला शहिदमध्ये ६ जना जिल्लाबाहिर छन् । महोत्तरी २, सोलुखसम्बु १, धनुषा १, सिन्धुपाल्चोक १ र एकजनाको ठेगान खुल्न नसकेका छन् । साबिककाे गेलु-५ का शहिद रवि चौहान आमाले प्रचण्डको कुरालाई ‘झुठका पोका’को संज्ञा दिइन् । छोराको रगतको अपमान भएको उनको भनाई छ । प्रचण्डबाट नेपालीले सुख नपाउने ठोकुवा उनले गरिन् ।

त्यस्तै शहिद उमा कार्की ‘सहारा’की बहिनी सविनाले आफुहरु स्वागत र भाषण सुन्न आएको नभई दिदीको रगत कुल्चने र बेचेर खाने मान्छेको अनुहार हेर्न आएको बताइन् । सविना साथीहरुका साथ कार्यक्रममा पुगेकी थिइन् । ‘हामी यहाँ कसैको भाषण सुन्न र नेतालाई स्वागत गर्न आएका होइनौं, हाम्री दिदीको सपनालाई खरानी पार्ने प्रचण्ड कस्ता रहेछन् भन्ने हेर्न आएका हौं’ सविनाले भनिन् । आफूले दिदीले लिएको उद्देश्य बुझिसकेको र सपना पूरा गर्न आफू लाग्ने बताइन् ।

आफ्ना कार्यकर्ता हत्या भएको स्थलसम्म जान नसक्ने उनकै शब्दमा ‘कायर’ प्रचण्डबाट आफूले मात्र नभई कसैले समृद्धिको आशा नगरेको उनको भनाई छ । प्रचण्ड ‘धोकेबाज र गद्दार’ हुन् भन्ने धेरै मान्छेको दिमाग परिसकेको उनले बताइन् । रामेछाप जनयुद्धको बेला माओवादीको ठूलो प्रभाव परेको र अहिले पनि क्रान्तिको उर्वर भूमिको रुपमा चिनिन्छ । साउन ३१ गते आयोजित उक्त कार्यक्रमस्थलमा सहभागी धेरैले जनयुद्ध र नेपाली जनताको पविर्तन र क्रान्तिलाई धोका दिएका प्रचण्ड कस्ता रहेछन् ? भनेर हेर्न आएको बताइन् ।

प्रचण्डजस्ता ध्रुतलाई सहयोग गर्दा आफूले धेरै दुःख पाएको स्थानीय धनबहादुर तामाङले बताए । ‘जनयुद्धका बेला खाईनखाई खान दियौं, बस्न दियौं, तर आज धोका पाएँ’ उनले भने । ७८ वर्षीय तामाङले भने ‘यिनको अनुहार देख्न पाथिइनँ, अहिले आउँदैछन् भनेर हेर्न आको ।’ जनयुद्धको बेला उनले माओवादी नेता, सेनालाई धेरै किसिमबाट सघाए । दुश्मनबाट जोगाए । रातदिन नभनिकन सूचना दिएर सहयोग गरेको अनुभव सुनाए ।

नागरिकको साँचो अर्थमा सुखी र समृद्ध जीवनको लागि देशमा ठूलै क्रान्तिसहितको परिवर्तन जरुर भइसकेको सहभागीहरुको भनाई छ । त्यसनिम्ति आफूहरु जस्तोसुनै सहयोग, त्याग गर्न तयार रहेको समेत प्रतिवद्ध रहेको बताए । कार्यक्रम सकेपछि हेलिकोप्टर चढेर काठमाडौं फर्किए ।

तत्कालीन जनयुद्धको नेतृत्व प्रचण्डले जनयुद्धको उद्देश्य र सपनामाथि गद्दार गरेर आमूल परिवर्तनको लागि थालिएको नेपाली क्रान्ति जनयुद्धलाई बीचमै अलपत्र पारेर धोकाले जनयुद्धका महान शहिदहरुको स्मृति पार्क निर्मित पार्कमा पाइला टेक्नु अनैतिक र शहिदको अपमान हुने भएकोले उनका विरोधमा शहिदपरिवार, क्रान्तिकारी जनताले कालो झण्डा देखाएको नेपाल कम्युनिस्ट पार्टीका रामेछापका सेक्रेटरी अभिलाषाले बताए ।

‘जनयुद्धका मूल्य, मान्यता, उद्देश्यलाई आफैंले धुत्कारेका फोहोरी संसदीय व्यवस्थाको रछ्यानमा लगेर मिल्काएका प्रचण्ड जस्ता गद्दारलाई स्वाभिमानी र देशभक्त जनताले मान्नुपर्ने कुनै कारण छैन । त्यसैले जनताको सुझाव र नेकपाको योजनाअनुसार संसदीय व्यवस्थाका दलालविरुद्ध नाराबाजी र प्रदर्शन गरिएको हो’ अभिलाषाले अनलाइन डबलीसँगको कुराकानीमा बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ