काठमाडौं भाद्र २ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीको उक्त सम्वोधनलाई महत्वका साथ हेरिएको छ ।
आज बस्ने प्रदेश सभामा प्रधानमन्त्री ओलीले बिहान ११ बजे सम्बोधन गर्ने समय तय भएको छ ।
प्रधानमन्त्री ओलीसँगै आज सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि धनुषा जानुहुनेछ ।
गत बैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओली जनकपुर पुग्नुभएको थियो ।
त्यो बाहेक उहाँ चार वर्षयता पार्टी वा सरकारी कामका लागी प्रदेश २ का जिल्लामा जानुभएको छैन ।
प्रधानमन्त्री ओलीको सम्मानमा प्रदेश २ सरकारले मिथिला भोजन कार्यक्रमको समेत आयोजना गरेको छ । उता प्रदेश २ का राजपा संसदीय दलका नेता तथा भौतिक योजना तथा पूर्वाधारमन्त्री जितेन्द्र सोनलले भने संघीय व्यवस्था भएका मुलुकमा प्रधानमन्त्रीले प्रदेशसभालाई सम्वोधन गर्ने व्यवस्था दुनियामा कहि नदेखेको प्रतिकृया दिनुभएको छ ।
उहाँले प्रदेशसभालाई सम्बोधन गर्ने प्रधानमन्त्रीको अभ्यास नौलो भएको बताउनुभयो । उहाँले समग्र आर्थिक र राजपाले उठाएको राजनीतिक मागका विषयमा प्रधानमन्त्रीले कसरी सम्बोधन गर्नुहुन्छ त्यो हेर्न बाँकी रहेको पनि प्रतिकृया दिनुभएको छ ।
प्रधानमन्त्री ओलीसँगै संघीय सरकारका उप–प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव प्रदेश २ को प्रदेश सभामा सहभागि हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।