१ भदौ, काठमाडौं ।
नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सबस्टेसन संचालनमा आएको छ ।
नेपालकै हालसम्मको ठूलो स्वचालित २२०÷१३२ केभी ढल्केबर सबस्टेसनको गएराति ११ बजे चार्ज गरी संचालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
योसँगै अब करिब २ सय ७० देखि ३ सय मेगावाटसम्म बिजुली आयात–निर्यात गर्न सकिने भएको छ ।
सब स्टेसन चार्ज भएपछि भारतबाट पहिलोपल्ट २२० केभी प्रसारण लाइनबाट विद्युत आयात सुरु भएको छ । यसअघि ढल्केबर सबस्टेसन निर्माण सम्पन्न नभएकाले १३२ केभीमार्फत विद्युत आयात भइरहेको थियो ।
निर्देशक घिसिङले ढल्केबर सबस्टेसन संचालनमा आउनु आन्तरिक प्रसारण प्रणाली सुदृढीकरण र दुई मुलुकबीचको विद्युत व्यापारका लागि एउटा कोशेढुंगा बताउनु भयो ।
‘ढल्केबरमै चार सय र दुई सय २० केभीको अर्को सबस्टेसन निर्माण गरिरहेका जानकारी दिदैँ उहाँले यसको काम पनि अबको डेढ वर्ष्भित्रमा सक्न बताउनु भयो ।
विद्युत आदान प्रदानका लागि ढल्केबर(मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइन यस अघि नै निर्माण सम्पन्न भइसकेको छ ।
विश्व बैकको नेपाल(भारत विद्युत प्रसारण तथा व्यापार आयोजना अन्तर्गत सबस्टेसन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सब स्टेसनको निर्माण गरिएको हो ।
प्राधिकरणले सेन्ट्रल चाइना पावर ग्रिड (सीसीपीजी)सँग १२ जुन २०१४मा हेटौडा, ढल्केबर र इनरुवामा सबस्टेसन बनाउन ठेक्का सम्झौता गरेको थियो ।
तर, सन्तोषजक रुपमा काम नगरेपछि प्राधिकरणले सीसीपीजीसँगको ठेक्का २२ सेप्टेम्बर २०१७मा तोडेको थियो । त्यसपछि ढल्केबर सबस्टेसनको बाँकी रहेको काम गराउन टेण्डर गरी जनबरी २०१८मा ठेक्का सम्झौता गरेको थियो । भारतीय ठेकेदार कम्पनी टेलमोसले ६ महिनामा काम सक्ने गरी ठेक्का पाएको थियो ।