३० साउन, सुनुसरी ।
नेपाल कम्युनिस्ट पार्टीले वर्तमान सरकार देशलाई गृहयुद्धतर्फ धकेल्न उद्यत रहेको बताएको छ ।
गएको मंगलबार मध्यरातमा सुनसरीको धरानबाट पार्टीका केन्द्रीय सदस्यद्वय किरण राई र दिपेश राईलाई प्रहरीले सुतिरहेको ठाउँबाट बिनाकारण गिरफ्तार गरेर बेपत्ता पारेको भन्दै नेकपाको पूर्वीकमाण्डले सरकारको कदमप्रति आक्रोश व्यक्त गरेको हो ।
बुधबार अबेर नेकपाका पोलिटब्यूरो सदस्य समेत रहेका पूर्वीकमाण्ड ईन्चार्ज अनिल शर्मा ‘विरही’ले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको कडा आलोचना गरेका छन् । विज्ञिप्तमा पार्टीका केन्द्रीय सदस्य राईद्वय र युवा नेताहरु चन्द्र बुढाथोकी र राकेश किरणसहित चार जनालाई सरकारले अनाहकमा गिरफ्तार गरेर उनीहरुको अवस्था अज्ञात राखेर डकैती शैली अपनाएको बताएका छन् ।
सरकारले अपनाएको हर्कतले देश गृहयुद्धतर्फ उन्मुख भएको र यो सरकारले ज्यादाति र गैरन्यायिक गिरफ्तार तीव्र पारेको भन्दै गिरफ्तारीको निन्दा भत्सर्ना ईन्चार्ज विरहीले गरेका छन् ।
साथै विरहीले सरकारले प्रेस आतंक र गृहयुद्ध उन्मुख सरकारको कदमको विरुद्ध प्रतिरोध गर्न पार्टीपंक्तिलाई अपिल गरेका छन् । गिरफ्तार सबैलाई निसर्त तत्काल रिहा गर्न विज्ञप्तिमार्फत सरकारसँग जोडदार माग गरिएको छ ।
उनले क्रान्ति सधै गतिशील हुने र यसमा जीतहार र चुनौति आइरहने समेत उल्लेख गरेका छन् ।