दैलेख, २५ साउन ।
नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्ला ईन्चार्ज लालबहादुर बिसीको घरमा प्रहरीले वारेन्ट पूर्जी टासेको छ ।
बिसिको दैलेखस्थित घरमा गएर प्रहरीले पूर्जी टासेको हो । पूर्जीमा बिसीलाई ‘फरार अभियुक्त’उल्लेख गरिएको छ ।
ज्यान मार्ने उद्योगसम्बन्धी कसुर गरेको अभियोगमा जिल्ला अदालत चितवनले जारी गरेको म्यादी पूर्जी ईन्चार्ज बिसीको गुराँस गाविस–२ दैलेखमा रहेको घरमा शुक्रबार टाँस गरिएको हो ।
घरमा पक्राउ पूजी टाँसेको बारे बिसीले सामाजिक सञ्जालमार्फत पुष्टि गर्दै अदालतले पूर्जीे बाटोको म्यादबाहेक ७० दिनको समयसीमा राखेर काटेको जानकारी गराउनु भएके छ ।
अभियोगको जाहेरीवालामा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ईशुमिया धोबी रहेका छन् । ‘ज्यान मार्ने उद्योगमा कसुर गरेको छ भनी अभियोग लागेकोमा तपाईलाई गिरफ्तार गर्न वारेन्ट जारी भइराखेकोमा पक्राउ नपरेकोले यो पूर्जी टाँसिएको छ’ पूर्जीमा उल्लेख छ ।
तर बिसीले पूर्जीमा आफुमाथि लगाएको अभियोग सत्प्रतिशत झुठा भएको बताउनुभएको छ । उहाँले पूर्जीमा उल्लेख गरिएको अभियोगमा सत्यता नभएको प्रष्ट पार्दै नेपाली जनताको परिवर्तनको आकांक्षा र क्रान्तिलाई कमजोर तुल्याउने षडयन्त्र भएको बताउनु भयो ।
पूर्जी २०७४ साल असार २७ गतेको मितिमा काटिएको भएपनि लामो समयपछि मात्र शुक्रवार स्थानीय प्रहरीले बिसीको घर पत्ता लगाएर अदालबाट जारी पूर्जी टाँस गरिएको जनाइएको छ ।
पूर्जी टाँसेको विषयलाई बिसीले नौलो विषय नभएको प्रतिक्रिया दिदै लेख्नुभएको छ , केपी–प्रचण्डको सामाजिक दलाल सरकारले आफ्नो ‘धर्म’ निभाएको हो ।
राष्ट्रिय स्वाधीनता र जनताको राजनैतिक अधिकारसहितको राज्य व्यवस्थाको पक्षमा लडिरहेका आफूहरुलाई यस्ता पूर्जीले केही फरक नपर्ने भन्दै उहाँले प्रचण्ड बादललाई धन्यवाद समेत दिनुभएको छ ।