काठमाडौं, २६ साउन ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेक शिखर सम्मेलनको तयारी स्वरुप सचिवस्तरीय बैठक काठमाण्डौमा बसिरहेको छ ।
आगामी भदौं १४ र १५ गते काठमाडौंमा हुने बिमष्टेकको चौथो शिखर सम्मेलनको एजेण्डाबारे उच्च अधिकारीबीच छलफल हुन लागेको हो । त्यसका लागि सदस्य राष्ट्रका प्रतिनिधि नेपाल आएका हुन् ।
भुटानका सोनम सोङ्ग, बंगलादेशका शहिदुल हेग, म्यानमारका यु क तिन, थाईल्याण्डका बुसाया मेथेलिन र श्रीलंकाका प्रसाद कारियावासम हिजै आउनु भएको हो । भने भारतीय सचिव विजय केशव गोखले भने आज बिहानमात्र काठमाडौं आउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राजधानीको एक होटलमा बसेको बैठकले सदस्य राष्ट्रका कार्यकारी प्रमुख सहभागी हुने शिखर सम्मेलनमा प्रस्तुत हुने बिषयमाथि छलफल गर्नेछ ।
सम्मेलनले पछिल्लो समय सडक सञ्जाल, व्यापार, पर्यटन, लगानी, ऊर्जा, प्रविधि आदानप्रदान, प्राकृतिक प्रकोपलगायत एजेन्डामा छलफल गर्दै सम्बोधनमा जोड दिने गरी काम अघि बढेको छ ।
शिखर सम्मेलनमा अन्तरदेशीय अपराधको जोखिम, आतंकवाद र विध्वंसको खतरा, चरमपन्थी अतिवाद, हातहतियार र लागूऔषध ओसारपसारलगायत विषयमा छलफल हुने बताइएको छ ।