२६ साउन,काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले राजधानीको दरबार मार्गमा अवस्थित होटल अन्नपूर्णसँग पार्टीले चन्दा मागेको प्रचार झुठा भएको भन्दै खण्डन गरेका छन् ।
झ्ठा अभियोगमा काठमाडौं सरकारले गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएका प्रवक्ता प्रकाण्डले अन्नपूर्ण होटलका संचालकलाई आफूले नचिन्ने प्रष्ट पारेका छन् । उक्त होटलकी संचालिका सिर्जना राणासँग नेकपाले चन्दा मागेको प्रचार केही दिनदेखि संचारमाध्यम आइरहेको सुनेर आफूलाई आश्चर्य लागेको उनले बताए । समाचारले आफूलाई दुःखी बनाएको गुनासो समेत गरे । समाचार पार्टी र नेतालाई बद्नाम गराउने उद्देश्यबाट प्रेरित र भ्रामक कपोल्कल्पित भएको बताए ।
यता प्रकाण्ड गिरफ्तार पर्नुमा सिर्जना राणाको हात रहेको भन्ने विषय संचारमाध्यममा राम्रै छाइरहेको स्थितिमा भने होटल अन्नपूर्णले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन भने यता राणाले पनि यसबारे मुख खोलेकी छैनन् । उक्त होटलका श्रृजना र उनका श्रीमान्ले संचालन गर्दै आइरहेका छन् ।
कुनै व्यापारी भनिएका मान्छेसँग आफ्नो नाम जोडेर प्रचार गरिनु नेकपाको लोकप्रियता र राष्ट्रियताप्रति समर्पित एजेण्डाबाट हतास बनेका तत्वहरुको षडयन्त्रबाहेक अन्य केही नभएको धारणा प्रकाण्डको छ । उनले आफू र नेकपासँग जोडेर त्यस्ता गलत समाचार प्रकाशन र वा प्रसार नगर्न समेत सम्बन्धित पक्षसँग हिरासतभित्रैबाट आग्रह गरेका छन् ।
प्रवक्ता प्रकाण्डलाई पार्टीको नियमित काममा रहेका बेला यही साउन २२ गते गाडी आउने क्रममा काठमाडौंको चोभारबाट साँझ साढे सात बजेतिर प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरी झण्डै पन्ध्र घण्टा बेपत्तापछि अहिले हिरासतमा राख्दै आइरहेको छ । उनीसँगै गिरफ्तार परेका सहयोगी हरिचन्द्र आचार्य र गाडी चालक मनबहादुर श्रेष्ठ पनि हिरासतमै छन् ।
संचालिका राणा लाभका लागि जस्तोसुकै हथकाण्ड अपनाउने पात्रको रुपमा चिनिन्छन् ।