३ साउन, काठमाडौं ।
नेपाल र चीनबीच यातायात तथा पारवहन सम्झौताको प्रोटोकोल टुंगो लगाउन आगामि अगष्ट महिनामा पनि वार्ता हुने भएको छ ।
यसका लागि वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे नेतृत्वको टोलीले चिनियाँ सरकारी टोलीलाई नेपाल आउन निम्तो दिइएको छ ।
०७२ मा भएको ब्यापार तथा पारवाहनसम्बम्बधी सम्झौता कार्यान्वयन गर्ने गरी प्रोटकलमा हस्ताक्षर भए नेपालको सामुन्द्रिक बन्दरगाह प्रयोगमा भारतीय एकाधिकार हट्ने छ ।
यो सम्झौतमा बन्दरगाह प्रयोगको मोडालिटी, आयात र निर्यातको प्रक्रिया, यातयातको प्रयोग, भन्सार जाँचपासको प्रक्रियाबारे पनि सम्झौता हुनेछ ।
वाणिज्य मन्त्रालयका सहससचिव रवीशंकर सैँजुले केही महत्वपूर्ण विषयहरु पनि फाइनल हुन बाँकी रहेको र अबको वार्तामा टुङगो लाग्ने सम्भावना रहेको बताउनु भयो ।
मन्त्रालय स्रोतका अनुसार चीनले नेपाललाई तियान्जिन, ग्वान्जाओ र सांघाई बन्दरगाह प्रयोग गर्न दिने सम्भावना छ ।
चिनियाँ बन्दरगाह प्रयोग गर्न पाएमा भारतसँगको सामुन्द्रिक पारवहनको एकदेशीय परनिर्भरता तोडिनेछ । नेपालले अहिले अन्तर्रा्ष्ट्रिय ब्यापारका लागि भारतको कोलकाता र विशाखापटनम् सामुन्द्रिक बन्दरगाहको मात्रै प्रयोग गरिरहेको छ ।