पर्सा, १३ साउन ।
पर्साको वीरगञ्ज महानगरपालिकाले कर वृद्धि गरेपछि वीरगञ्जका उद्योगी व्यवसायी बिरोधस्वरुप सडकमा उत्रिएका छन् ।
महानगरपालिकाले हालै पारित गरेको आर्थिक ऐन २०७५ को विरोधमा वीरगञ्जका उद्योगी व्यवसायीले आज दबाब स्वरुप र्याली प्रदर्शन गरेका हुन् ।
वीरगञ्जको घण्टाघरबाट सुरु भएर माइस्थान, आदर्शनगर चोक हुँदै वीरगञ्ज महानगरपालिकाको कार्यालय पुगि टुङगिएको र्यालीमा सहभागीहरुले महानगरले वृद्धि गरेको करको विरोधमा विभिन्न नारा अंकित प्लेकार्ड तथा व्यानर बोकेका थिए ।
उता वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेश सांसद ओमप्रकाश शर्माले आर्थिक वर्ष २०७५÷७६ का लागि कायम गरेको कर, शुल्क, दस्तुर असूलीको निर्णय पुनरावलोकनको माग गर्दै नगर प्रमुख विजयकुमार सरावगीलाई ७ दिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाउनु भएको छ ।
महानगरले आफूखुशी मनोमानी तवरबाट कर, दस्तुर तथा सेवा शुल्क अभिवृद्धि गरेको भन्दै व्यवसारीले सम्पूर्ण नगरवासीको आर्थिक अवस्था हेरी नगरवासीलाई समेत आर्थिक राहत महशुस हुने गरी कर निर्धारण गर्नुपर्ने ज्ञापन पत्रमा माग गरेका छन् ।
वीरगञ्ज नगर भित्र सबै वर्गमा मानिसहरु बसोवास गर्नेभएकाले उनीहरुको सबै तहका जनताका लागि कर, शुल्क, दस्तुरको दर समान हुदा समस्या हुने भन्दै जनताले सहज रुपमा मंहगो कर, दस्तुर तथा सेवाशुल्क बुझाउन सक्ने अवस्था नरहेको पनि ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्र बुझ्दै महानगर प्रमुख सरावगीले स्थानीय सरकारको रुपमा लगाएको करको सम्बन्धमा संघसंग वार्ताका लागि महानगरपालिकाको कार्यालय तयार रहेको बताउनुभयो । कर लगाउनु अघि कुराकानीका लागि संघका पदाधिकारीहरुलाई पटकपटक बोलाउँदा पनि नआएको महानगर प्रमुख सरावगीको आरोप थियो ।
यसैबीच, घरपालुवा चौपायालाई बेवारिसे छाडेको भेटिएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिले जरिवाना लिन सुरु गरेको छ ।
नगरपालिका क्षेत्रभित्र छाडा पशुका कारण सडक दुर्घटना, सार्वजनिक स्थलको अवरोध र कृषि बालीको नोक्सानी वढेको भन्दै पशुधनीसंग जरिवाना लिन शुरु गरिएको नगरप्रमुख वासुदेव घिमिरेले बताउनुभयो ।
नगरपालिकाल गाई, गोरु, बाच्छा, बाच्छी बेवारिसे छाडिएमा ३ हजार, राागा, भैंसी, पाडा, पाडीको ७ सय, बाख्रा, खसी, बोका, भेंडा, सुँगुर, बंगुरको ५ सय रुपैया जरिवाना गर्ने नियम बनाईएको छ ।
कस्ले छोडेको हो भन्ने सुचना दिने व्यक्ति, संघ संस्थालाई त्यस्तो चौपाया धनीबाट असुल गरिएको जरिवानाको ५० प्रतिशत रकम पुरस्कार स्वरुप उपलव्ध गराउने व्यवस्था गरिएको छ ।