काठमाडौँ, १३ साउन ।
सभामुख कृष्णबहादुर महराले कञ्चनपुरमा किशोरी बलात्कारका विषयमा सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य र विशेष समयमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको र शव उखुबारीमा फालिएको भन्दै दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
सांसदको मागपछि सभामुख महराले सो घटनाका बारेमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले सभामुख र उपसभामुखका विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले सो विषयमा सदनमा छलफल हुन नसक्ने जानकारी दिनुभयो ।
सांसदले सभामुख र उपसभामुख एउटै दलको हुन नसक्ने भन्दै पटक पटक धारणा राखेपछि सभामुखले अदालतमा विचाराधीन मुद्दामाथि छलफल हुन नसक्ने स्पष्ट गर्नुभयो ।
यसैबीच, नेपाल र चीन जोड्ने कोदारी राजमार्ग मर्मतमा तत्काल ध्यान दिन प्रतिनिधिसभाको आजको बैठकमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।
गोरखा भूकम्पका कारण सो राजमार्ग लामो समयदेखि अवरुद्ध हुँदै आएकाले मर्मतमा ध्यान दिन र यातायात सञ्चालनमा सहज वातावरण बनाउन आग्रह गरेका हुन् ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सिन्धुपाल्चोककाका सांसद अग्निप्रसाद सापकोटाले कोदारी राजमार्ग लामो समयदेखि अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको र स्थानीयवासी सबैभन्दा बढी प्रभावित भएकामा गुनासो गर्नुभयो । उहाँले कोदारी राजमार्गको मर्मतसम्भारमा ध्यान दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गर्नुभयो ।
यस्तै सांसद उमा रेग्मीले भीमदत्त नगरपालिका–३ मा किशोरीलाई बलात्कार गर्ने दोषीलाई कडा कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभयो । उहाँले सुन तस्करीमा संलग्नलाई कारवाही गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद प्रेम सुवालले भूकम्पपीडितले घर तथा आवास निर्माणमा बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएको ऋणको ब्याज पटक पटक बढाइएको भन्दै आपत्ति प्रकट गर्नुभयो । उहाँले पीडितलाई थप पीडित बनाउने गरी बैंक तथा वित्तीय संस्थाले पटक पटक ब्याज बढाएको र ऋण तिर्न समेत ताकेता गरेकामा गुनासो गर्नुभयो ।
सांसद विमलप्रसाद श्रीवास्तवले नेशनल मेडिकल कलेजलाई मोटो रकम कर छुट दिइएको भनी आपत्ति प्रकट गर्दै सम्बन्धित निकायले तत्काल छानबीन गर्न माग गर्नुभयो ।
यस्त्ै सांसद राजेन्द्रकुमार राईले धनकुटा जिल्लाका किसानले उत्पादन गरेको गोलभेँडा भारत निकासी हुन नसकेको र काँकडभिट्टा भन्सारमा रोकिएकामा गुनासो गर्नुभयो ।
उहाँले किसानको गोलभेँडा खेर जाने अवस्था आएको र भन्सारमा नै रोकेर समस्या खडा गरिएको छ भन्दै किन त्यस्तो भएको हो भन्ने बारेमा जानकारी दिन आग्रह गर्नुभयो ।