नुवाकोट, १३ साउन ।
नेपाली काँग्रेसका पुराना नेता विष्णुबहादुर आचार्यको ६३ वर्षका उमेरमा निधन भएको छ ।
पाचक ग्रन्थीको अर्बुदरोगबाट पिडित उहाँको काठमाडौँको वीर अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको हो । शनिबार साँझ बान्ता हुने र शरीरमा असजिलो भएपछि उपचारका लागि उहाँलाई अस्पताल लगिएकामा उपचारका क्रममा उहाँको निधन भएको आचार्यका सहकर्मी तथा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति ध्रुव अधिकारीले जानकारी दिनुभयो ।
विसं २०३३ देखि काँग्रेसको राजनीतिमा होमिनुभएका आचार्यलाई काँग्रेसले पञ्चायतविरुद्ध ‘आउट पोष्ट’ कब्जा गर्ने नीतिअनुरुप २०४४ सालमा काँग्रेसका तर्फबाट विदुर नगरपालिकाको निर्वाचनमा प्रमुखमा उम्मेदवार बनाएको थियो ।
पार्टी जिल्ला कमिटीका सदस्य, सहसचिव र सचिव हुँदै २०४६ सालको जनआन्दोलनताका आचार्य जिल्लामा पार्टीको उपसभापति भएर सक्रिय हुनुभएको थियो ।
उहाँ २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापति पदमा पार्टीबाट सभापतिको उम्मेदवार बन्नुभएको थियो । उहाँले विसं २०५६ मा पार्टीको जिल्ला समितिको कावा सभापतिसमेत भएर पार्टी हाँक्नुभएको थियो ।
नुवाकोटको प्रजातान्त्रिक आन्दोलनमा आचार्यको योगदानलाई भुल्न नसकिने काँग्रेसका पूर्वसभापति अधिकारीले बताउनुभयो ।
प्रजातान्त्रिक आन्दोलनका क्रममा आचार्य पटक पटक कारागारसमेत पर्नुभएको थियो ।
विसं २०४२ को सत्याग्रह र २०४६ सालको जनआन्दोलनका क्रममा पनि उहाँ कारागार पर्नुभएको पूर्वसभापति अधिकारीले बताउनुभयो ।
पछिल्लो समय आचार्य बिपी विचार मञ्चका जिल्ला अध्यक्ष र बिपी. विचार मञ्चका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । स्व आचार्यका श्रीमती, दुई छोरा र तीन छोरी हुनुुहुन्छ ।