काठमाडौं ९ साउन ।
करिब डेढ महिनादेखि बन्द रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) आवेदन आइतबारबाट खुल्ला हुने भएको छ ।
देशैभरि साउन १३ गते आइतबारबाट आवेदन खुल्ला गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
राजश्व संकलन, मिलान, बाँकी रहेको रिटालयको ब्याक लक सक्ने भन्दै विभागले गत जेठ अन्तिम सातादेखि आवेदन बन्द गराएको थियो ।
विभागका अनुसार ए, के र बी क्याटेगोरीका सवारी साधनका लागि आवेदन दिन सकिने छ । विभागले अहिले अनलाइन आवेदन अनिवार्य गरिसकेको छ ।
देशैभरबाट परम्परागत लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स कार्यान्वयनमा ल्याइएपनि लाइसेन्स पाउन ९–१० महिना कुर्नुपर्ने बाध्यता अझै हट्न नसकेको निर्देशक तुल्सीराम अर्यालले बताउनु भयो ।
करिब चार लाखले सवारीचालक अनुमतिपत्रको ट्रायल परीक्षा पास गरेपनि लाइसेन्स पाउन सकेका छैनन् ।
कार्ड र प्रिन्टर ल्याउने जिम्मा पाएको मन्द्रास प्रिन्टर्सका कारण समस्या भएको विभागको भनाई छ । करिब साढे तीन लाख कार्ड ल्याए पनि सँगै ल्याएको मेसिनमा समस्या देखिएपछि लाइसेन्स छाप्न नसकिएको हो । कम्पनीले इण्डियमै मेसिन चेक गरेर नल्याएका कारण समस्या भएको निर्देशक अर्यालले जानकारी दिनुभयो ।
अहिले विभागमा चारवटा पुराना मेसिनबाट काम भइरहेको छ । दैनिक ५ हजार लाइसेन्सको माग भए पनि अहिले जम्मा २ हजार छापिने गरेको विभागले जनाएको छ ।