३ साउन,जुम्ला । चिकित्सा शिक्षा क्षेत्रकाे सुधारको माग गर्दै डा. गोविन्द केसी अनलन बसेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अाज गोली चलेको छ ।
जसरी पनि काठमाडौँ ल्याउने सरकारको निर्देशनपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरेको छ । नेपालगंजबाट सेनाको हेलिकोप्टर जुम्ला पुगेसँगै तनाव बढेको थियो ।
अनसन स्थलमा जान रोकेपछि प्रहरीले अश्रव्यास र लाठी चार्ज गरेको थियो । डा. केसीको पक्षमा आन्दोलनमा उत्रिएका विद्यार्थी तथा सर्वसाधारणलाई लक्षित गरेर प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोलीबाट एक प्रहरी नै घाइते भएको बताइएको छ ।
२० दिनदेखि आमरण अनशनरत डा. केसीले आफ्ना समर्थकमाथि नरसंहार मच्चाएको आफू हेर्न नसक्ने भन्दै काठमाडौँ जान तयार भएको बताएका छन् । केसीले काठमाडौँ जान तयार भएको बताएपछि केही शान्त भएको वातावरण फेरि एकाएक तनावपूर्ण बनेको छ ।
डा. केसीले आफू सरकारी हेलिकोप्टरमा नजाने अडान लिएपछि फेरि तनाव बढेको हो । प्रहरीले बल प्रयोग गरेपछि केसीका समर्थकहरुले नाराबाजी गरेका थिए । त्यहीे बेला प्रहरीले गोली चलाएको थियो । स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको प्रहरीले बताएको छ ।
अस्पताल परिसरमा अहिले प्रहरीले अन्धाधुन्द लाठी चार्ज गरिरहेको छन् । प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु पनि घाइते भएका जनाइएको छ ।