२ साउन,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीमा बोल्न र लेख्न सक्ने कोही नभएको बताएका छन् । सरकारको चौतर्फी आलोचना भएको तर त्यसको कसैले प्रतिरक्षा नगरेको भन्दै प्रधानमन्त्री ओलीले व्याग्यात्मक रुपमा भने, “बहुमत ल्याउने पार्टीमा लेख्न र बोल्न जान्ने कोही छैन जस्तो भएको छ । यत्रो पंक्तिमा कोही लेख्न जान्ने मान्छे छ नै जस्तो लाग्दैन किनकी कसैले लेखेको देखिँदैन ।”
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीले भने, “कोही बोल्न जान्ने छ जस्तो पनि लाग्दैन । कोही बोलेको सुनिँदैन । सरकारले राम्रो काम गरिरहेको छ, त्यसको प्रतिरक्षा हुँदैन ।”
विपक्षीहरु एकजुट भएर सरकारमाथि आक्रमण गरिरहेको तर, पार्टी नेता कार्यकर्ताले सरकारको पक्षमा नबोलेको गुनासो गरे ।
मंगलबार कार्यकर्तासँग भएको भेटमा ओलीले दुई चार महिनाभित्रै देशलाई समृद्धि र विकासको बाटोमा पुर्याइहाल्न नसकिने बताए । उनले सरकारले जनपक्षीय र प्रगतिशील काम गरेको भन्दै त्यसको पक्षमा बोल्न नेता–कार्यकर्तालाई भने ।
प्रधानमन्त्री ओलीले सरकार कसैको दबाबमा परेर निर्णय नगर्ने पनि जिकिर गरे । ‘संविधान, नियम, कानुन र विधिअनुसार सरकारले काम गर्छ’ उनले भने ‘जसले जे माग राख्यो त्यो पुरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय हुदैन ।’
दुई चार महिनामै समृद्धि हासिल गर्न नसकिने भन्दै प्रधानमन्त्री ओलीले धैर्य गर्न आग्रह गरे । ‘चुनाव भन्दा अघिको सरकारले देशमा जथाभावी गरेकोले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको छ’ उनले भने ।
प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेता भीम रावललगायतका भाषणमा दख्खल राख्ने र घनश्याम भुसाल जस्ता लेखनबाज नेतारुहरुलाई ब्याग्य गरेको अर्थको रुपमा लिइएको छ ।