सरकारविरुद्ध काँग्रेसले साउन ३ गतेदेखि आन्दोलन गर्ने, अाेलीलार्इ भेटेरै दिए देउवाले यस्ताे चेतावनी

सरकारविरुद्ध काँग्रेसले साउन ३ गतेदेखि आन्दोलन गर्ने, अाेलीलार्इ भेटेरै दिए देउवाले यस्ताे चेतावनी

  • मङ्लबार, साउन १, २०७५
  • मिर्मिरे अनलाइन

  • 30.7K
    SHARES

१ साउन, काठमाडौं । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारका जनविरोधी क्रियाकलापविरुद्ध यही साउन ३ गते बिहिवारदेखि देखि आन्दोलन गर्ने भएको छ ।

काँग्रेस उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा आज(मंगलवार)  बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको बैठकले वर्तमान सरकारको जनविरोधी क्रियाकलापको निन्दा र भत्र्सना गर्दै त्यसविरुद्ध विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेको हो ।

बैठकले साउन ३ गते प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल र प्रजातन्त्रवादी चिकित्सक संघको अगुवाइमा दिउँसो १ बजे माइतीघर मण्डलाबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै, साउन ५ गते नेपाल तरुण दलको अगुवाइमा दिउँसो १ बजे माइतीघर मण्डलाबाट विरोध प्रदर्शन शुरु गर्ने र साउन ८ गते काँग्रेस जिल्ला कार्यसमिति, काठमाडौँ, ललितपुर र भक्तपुरको अगुवाइमा दिउँसो १ बजे माइतीघर मण्डलाबाट विरोध प्रदर्शन शुरु निर्णय गरेको छ ।

बैठकमा काँग्रेसका महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, मीन विश्वकर्मा, रामकृष्ण यादव, प्रवक्ता विश्वप्रकाश शर्मा, लक्ष्मी परियारलगायतका नेताहरुको उपस्थिति थियो ।

साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन

काँग्रेसले केन्द्र र प्रदेश सरकारका जनविरोधी क्रियाकलापविरुद्ध अागामि साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको छ ।

काँग्रेस महामन्त्री डा शशांक कोइरालाले आज एक विज्ञप्तिमार्फत उक्त विरोध सभाका लागि पार्टीका जिल्ला समितिहरुलाई निर्देशन दिँदै भ्रातृ एवं शुभेच्छुक संस्था र पार्टीका सबै इकाईलाई समेत सहभागी हुन आह्वान गर्नुभएको छ ।

उहाँले सरकार मनोमानी ढंगबाट सञ्चालन गर्न उद्यत रहेको उल्लेख गर्दै सत्ता पक्षले संघीय संसद् र प्रदेश सभाका सभामुख र उपसभामुख अलग–अलग दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको उल्लंघन गरेको आरोप लगाउनुभयो ।

महामन्त्री डा कोइरालाले सरकारमा संघीय व्यवस्थाको भावना विपरीत अधिकारको केन्द्रीकरण गर्ने, शक्ति पृथकीकरणको सिद्धान्तलाई खिल्ली उडाउँदै स्वतन्त्र न्यायलयप्रति आक्रामक रुपमा प्रस्तुत हुने, संवैधानिक निकायलाई कार्यकारीको छायाँमा राख्ने जस्ता प्रवृत्ति प्रकट भएको बताउनुभएको छ ।

सरकार र पार्टी एकै जस्तो गरेर सञ्चालन गर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायहरुलाई व्यावसायिक रुपमा सञ्चालन गर्नुको सट्टा पार्टीप्रतिको प्रतिबद्धताका आधारमा चलाउने प्रवृत्ति स्पष्ट रुपमा प्रकट भएको महामन्त्री डा कोइरालाको भनाइ छ ।

“काँग्रेसका सभापति प्रधानमन्त्री भएको बेला विधिसम्मत् तरिकाबाट गरिएका नियुक्तिहरुलाई गैरकानूनी तरिकाबाट खारेज गर्ने, तत्कालीन सरकारले ७० वर्षबाट घटाई ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय, मिर्गौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका गम्भीर बिरामीलाई मासिक रु पाँच हजार जीविकोपार्जन भत्ता दिने व्यवस्था तथा भूकम्प पीडितलाई थप एक लाख राहत दिने निर्णयलाई खारेज गर्ने यो सरकारको जनविरोधी निर्णयको विरोध हुन जरुरी छ”, विज्ञप्तिमा उल्लेख छ ।

महामन्त्री डा कोइरालाले तत्कालीन सरकारले अध्यादेशमार्फत जारी गरेको चिकित्सा शिक्षा विधेयक उल्ट्याउने निर्णय, डा गोविन्द केसीको अनशन र आन्दोलनबाट सिर्जित परिस्थितिलाई काँग्रेसले गम्भीरताका साथ लिएको जनाउँदै उक्त अध्यादेशको हुबहु विधेयक आउनुपर्ने पार्टीको दृढ मत रहेको स्पष्ट पार्नुभयो ।

उहाँले मुल्यवृद्धि अकासिँदो भए पनि यसमा सरकार गम्भीर नभएको, स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गरिएको, बाढी पहिरोबाट पीडित जनताका आवश्यकता र समस्याहरुप्रति सरकार उदासीनताका साथ प्रस्तुत भएको आरोप लगाउनुभएको छ । 

देउवाले प्रधानमन्त्री अाेलीलार्इ भेटेर दिए यस्ताे चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएकाे छ ।

अाज सभापति देउवाले  प्रधानमन्त्री ओलीलाई भेटेरै जुम्लालामा अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै ध्यानाकर्षण गराउनु भयाे ।

भेटमा सभापति देउवाल तत्कालै वार्ता गरेर अनसनरत डा केसीका माग पूरा गरी जीवन रक्षा गर्नु सरकारको कर्तव्य रहेको बताउनुभयाे ।

सभापति देउवाले आफ्नो नेतृत्वको समयमा माथेमा उच्चस्तरीय कार्यदलको आधारमा जनभावना अनुरुप जारी गरेको अध्याधेशलाई हुबहु विधेयकको रुपमा ल्याउनु नै समाधानको बाटो भएको पनि बताउनु भएकाे थियाे ।

साथै सरकारले यसलाई तोडमोड गरेर जवरजस्ती ढंगले विधेयक ल्याउने प्रयत्न गरे कांग्रेसको विरोधको सामना गर्नुपर्ने चेतावनीसमेत उहाँले दिनुभयाे ।

भेटका क्रममा प्रधानमन्त्री अोलीले भने हाल तयार पारिएको विधेयक पास गर्न सहयोग गर्न अाग्रह गर्नुभएकाे थियाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ