१ साउन, काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अाफ्नै पार्टीका कार्यकर्तासँग अाक्राेश पाेख्नुभएकाे छ ।उहाँले सरकारको प्रतिरक्षा नगरेको भन्दै पार्टी नेता कार्यकर्ताको आलोचना गर्नुभयाे ।
पार्टी कार्यालय धुम्बाराहीमा कार्यकर्तासँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले विपक्षीहरु एकजुट भएर सरकारमाथि आक्रमण गरिरहेकोबेला पार्टी नेता कार्यकर्ताले सरकारका राम्रा काम तथा नीतिको समेत प्रतिरक्षा नगरेको गुनासाे गरनुभयाे ।
विपक्षीहरु सरकारविरुद्ध एकजुट भएर लागेको उहाँले भन्नुभयाे, ‘ प्रतिपक्षीले उधुमसँग हल्ला मच्चाएका छन्’ ‘कुनै विषय पाएका छैनन् । भर्खर बनेको सरकारलाई पहिल्यै भत्किएका बाटाहरु देखाएर तमासा गर्छन् ।’
सडकका खाल्टाहरु पुरिहाल्न नभ्याएको भन्दै अाेलीले देशलाई समृद्धि र विकासको बाटोमा पुर्याइहाल्न २/४ महिनाको अवधिमा नसकिने भन्दै अलिकति समय लाग्ने तर, ब्यापक विरोध र जो जहाँ छ त्यहीबाट आक्रमण भएको उहाँले बताउनु भयाे ।
तर, बहुमत ल्याउने पार्टीमा लेख्न र बोल्न जान्ने कोही छैन जस्तो भएको उहाँले बताउनुभयाे ।
यत्रो पंक्तिमा कोही लेख्न जान्ने मान्छे छ नै जस्तो लाग्दैन किनकी कसैले लेखेको देखिँदैन’ अाेलीले भन्नुभयाे, ‘कोही बोल्न जान्ने छ जस्तो पनि लाग्दैन । कोही बोलेको सुनिदैन । सरकारले राम्रो काम गरिरहेको छ, त्यसको प्रतिरक्षा हुँदैन ?’
आफ्नो नेतृत्वको सरकारले सबैभन्दा जनपक्षीय र प्रगतिशील नीतिहरु बनाएको दाबी गर्दै उहाँले त्यसको चर्चा र प्रतिरक्षा पार्टी पंक्त्तिबाटै नभएको भन्दै आक्रोस पोख्नुभयाे ।
महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने
नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन÷अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ ।
एकतापछि गठित नेकपाको विधानमा गरिएको यस्तो व्यवस्थाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आगामी महाधिवेशनमा भाग लिन सदस्यता रहेको भूगोलबाट प्रतिनिधि निर्वाचित हुनुपर्ने भएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भएपछि बनेको केन्द्रीय कमिटीका ४४१ सदस्य तथा मातहतका प्रदेश, जिल्ला कार्यसमितिका सदस्यले सम्बन्धित कमिटीमा रहेका संगठित सदस्यबीच प्रतिष्पर्धा गरी प्रतिनिधि निर्वाचित हुनुपर्ने छ । विगतमा एमालेले प्रतिनिधि निर्वाचन (चयन) को प्रणाली अभ्यास गर्दै आए पनि माओवादी केन्द्रमा आवधिक र नियमित महाधिवेशन÷अधिवेशन नभएकाले यस्तो अभ्यासको कार्यान्वयन भएको थिएन ।
नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सम्पादनका क्रममा रहेको पार्टीको विधानलाई आज बसेको सचिवालयको छैटौँ बैठकले प्रकाशन गर्न अनुमति दिएकाले अब चाँडै विधान र नियमावली सार्वजनिक हुनेछ भन्दै सबै महाधिवेशन÷अधिवेशनमा निर्वाचित प्रतिनिधिले मात्र भाग लिन पाउने व्यवस्था गरिएको बताउनुभयो । एकतापछिको पहिलो महाधिवेशनमा सहमतिका आधारमा नेतृत्व चयन गर्ने आन्तरिक समझदारी शीर्ष नेताबीच भएको बताइए पनि प्रतिनिधि चयनमा पराजित भएमा ती नेताले महाधिवेशनमा चुन्न र चुनिन पाउने छैनन् ।
प्रधानमन्त्री एवं अध्यक्ष ओलीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले पारित विधान र नियमावलीलाई प्रकाशन गर्ने र आधारभूत तहसम्मको एकतालाई एकता घोषणामा उल्लेख भएको अवधि तीन महिना (आगामी भदौ ३) भित्र पूरा गरिसक्ने गरी काम हुने महासचिव पौडेलले जानकारी दिनुभयो ।
एकतापछि प्रधानमन्त्री ओलीको छिमेकी चीन भ्रमण र अध्यक्ष दाहालको श्रीमतीको उपचारका लागि सिंगापुर भ्रमण तथा अन्य कार्यव्यस्तताले विधान र नियमावली पारितमा ढिलाइ हुँदा मातहतका कमिटीको एकताले गति लिन सकेको छैन । “तलको एकतामा अब ढिलाइ हुँदैन, शीर्ष नेताहरुको कार्यव्यस्तताले नभ्याइएको हो, हामी तीन महिनाभित्र सक्ने तयारीमै छौँ ।”
विधान र नियमावली प्रकाशनपछि तल्ला कमिटीको एकताका लागि यसअघि पार्टी सचिवालयले गठन गरेका सम्बन्धित कार्यदलले प्रतिवेदन बुझाउनेछन् र पार्टीले कहाँ कहिले एकता गर्ने भन्ने कार्ययोजना तय गर्नेछ ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त कार्ययोजनाबारे आज छलफल शुरु भएको र आगामी बैठकले टुङ्गो लगाउने जानकारी दिनुभयो । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सरकारले गरेका काम र विभिन्न निर्णयका बारेमा अवगत गराउनुभएको थियो ।