म्याग्दी, ३२ असार ।
हाइड्रो भिलेजका नामले प्रख्यात म्याग्दीको नारच्याङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा दैनिक १५० जनाले रोजगारी पाएका छन् ।
जिल्ला सदरमुकाम बेनीदेखि चारघण्टाको सवारीयात्रापछि पुगिने नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र ३८ मेगावाटको नीलगिरिखोला जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।
यी जलविद्युत् आयोजनाबाट स्थानीयले रोजगारी पाउनुका साथै मासिक न्यूनतम रु १५ हजारदेखि ५० हजारसम्म कमाइ गर्दै आएका स्थानीय २९ वर्षीय वीरबहादुर पुनले बताउनुभयो ।
पाँच वर्षदेखि घलेम्दीमा सुरुङमार्गको सहइञ्चार्ज भएर काम गरिरहेका पुनले गाउँमै रोजगारी पाएपछि बिदेश जानुपर्ने अवस्थाको अन्त्य भएको बताउनु भयो ।
स्थानीय महेन्द्र गर्बुजाका अनुसार घलेम्दी र मिस्त्रीमा दैनिक १५० जनाले काम पाइरहेका छन् । स्थानीयले आयोजनामा काम मात्र होइन त्यहाँ काम गर्ने कामदारका लागि किराना पसलदेखि होटलसमेत सञ्चालन गरी आत्मनिर्भर बन्न थालेका छन् । घलेम्दीको विद्युत्गृह र मिस्त्रीको बाँधस्थल एकै स्थानमा पर्छ ।
अहिले त्यहाँ करीब २०० कामदार छन् । त्यसैलाई लक्ष्य गरेर स्थानीयले किराना पसल पनि सन्चालन गरेका छन् ।